+
Search

ताजा अपडेट +

पपुलर +

उद्योगीलाई पक्राउ गरेर प्रधानमन्त्री र गृहमन्त्री पैसाको बार्गेनिङ गर्छन् : सुनील शर्मा

उद्योगीलाई पक्राउ गरेर प्रधानमन्त्री र गृहमन्त्री पैसाको बार्गेनिङ गर्छन् : सुनील शर्मा
पालिका लाइभ
२०८० माघ १९, शुक्रबार

काठमाडौं- नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले पैसाको बार्गेनिङ गर्नका लागि उद्योगी अरुण चौधरीलाई पक्राउ गरेको बताएका छन्।

शुक्रबार कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले वर्तमान सरकारले उद्योगी तथा ठूला घरानाहरुलाई पैसाको बार्गेनिङ गर्नका लागि पक्राउ गर्ने गरेको बताएका हुन्।

उनले उद्योगीहरूलाई गिरफ्तार गर्ने र हतोत्साही बनाई ‘अन्डरटेबल’ पैसाको बार्गेनिङ गर्ने गरिएको भन्दै सोही डिजाइनमा उद्योगीलाई गिरफ्तार गरिएको बताए।

उनले भने, ‘अहिलेको प्रचण्ड नेतृत्वको सरकार मिनबहादुरको गिरफ्तारीदेखि लिएर अहिलेसम्म हेर्नुभयो भने देशमा ठूला–ठूला उद्योगपतिहरु, ठूला घरानाहरुलाई पुराना केसहरु, ठूला उद्योगपतिहरुलाई गिरफ्तार गर्ने, ह्यारेस गर्ने र अण्डरटेबल पैसा डिल गर्ने यो प्रथा अहिलेको राज्यसत्तामा बसेको विशेषतः हामीसँग गठबन्धनमा रहेको माओवादीको प्रचण्डजी र अहिलेको गृहमन्त्रीको डिजाइन हो।’

सांसद शर्माले चौधरीमाथि कुनै कानूनी प्रश्न भए अदालतमा जान सकिने भन्दै केवल व्यापारीहरुलाई आतंकित बनाउनका लागि मात्रै यस्तो गरिएको बताए।

उनले भने, ‘यसमा कुनै कानुनी प्रश्न भएको भए त्यो फाइललाई लिएर, अनुसन्धान गरेर अदालतमा दर्ता गर्न सकिन्थ्यो। तर प्रक्रिया हेर्नुस् हिजो मिनबहादुरदेखि अहिलेसम्म आइपुग्दाखेरी यसरी व्यापारीहरुलाई गिरफ्तार गर्ने, अण्डरटेबल डिल गर्ने र व्यापारीहरुलाई आतंकित बनाउने प्रथा छ।’

उनले चौधरीलाई सरकारले गिरफ्तार गरेकोप्रति भर्त्सनासमेत गरे।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।