+
Search

ताजा अपडेट +

पपुलर +

सिंहदरबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ८ करोडभन्दा बढी बिगोका १० मुद्दा

सिंहदरबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ८ करोडभन्दा बढी बिगोका १० मुद्दा
पालिका लाइभ
२०८३ भाद्र ३०, मंगलवार

काठमाडौं– नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेको भन्दै सिंहदरबारबाटै नियन्त्रणमा लिएको छ।

अध्यक्ष तामाङलाई बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले गरेको बैठक सकिएलगत्तै पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भदौ २९ गते अपराह्न करिब ३ बजे प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी खोजतलासको क्रममा उनलाई नियन्त्रणमा लिएको हो। तामाङविरुद्ध अरुण अर्यालको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो, जसकै आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उनलाई पक्राउ गर्ने अनुमति लिएको थियो।

पक्राउपछि गरिएको सीआरएस (केन्द्रीय अनुसन्धान अभिलेख) जाँचमा तामाङविरुद्ध थप मुद्दा समेत रहेको फेला परेको छ।

प्रहरीको प्रेस विज्ञप्तिअनुसार हाल उनीविरुद्ध विभिन्न कार्यालयमा जम्मा १० वटा मुद्दा दर्ता रहेका छन्, जसमा कुल बिगो ८ करोड २४ लाख ६५ हजार रुपैयाँ कायम भएको छ।

यीमध्ये सबैभन्दा ठूलो रकमको मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा नै दर्ता ३ करोड ४ लाख रुपैयाँ बिगोको बैंकिङ कसुर हो, जुन २०८२ साल असोज ५ गते दर्ता भई काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा मिसिल पेस भइसकेको छ। यसैगरी सोही कार्यालयमा १ करोड ३ लाख ३० हजार रुपैयाँ (२०८२ पुस १७), ४८ लाख रुपैयाँ (२०८० माघ ८) र १५ लाख रुपैयाँ (२०८० माघ ९) बिगोका थप तीनवटा बैंकिङ कसुर मुद्दा दर्ता छन्।

ठगीसम्बन्धी अर्को मुद्दा २ करोड ५६ लाख रुपैयाँ बिगोको छ, जुन २०८१ साल असार ११ गते दर्ता भएको थियो।

बाँकी मुद्दामध्ये जिल्ला प्रहरी परिसर भक्तपुरमा २ लाख रुपैयाँ, प्रहरी वृत्त जनसेवामा ७५ लाख रुपैयाँ, प्रहरी वृत्त दरबारमार्गमा ५ लाख २५ हजार रुपैयाँ र प्रहरी वृत्त लैनचौरमा ११ लाख ८० हजार रुपैयाँ बिगोका बैंकिङ कसुर मुद्दा दर्ता रहेका छन् भने प्रहरी वृत्त महाराजगन्जमा पनि एउटा मुद्दा दर्ता छ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा मात्रै यसरी जम्मा ४ वटा बैंकिङ कसुर र १ वटा ठगी मुद्दा दर्ता रहेको देखिन्छ भने भक्तपुर, जनसेवा, दरबारमार्ग, लैनचौर र महाराजगन्जमा एक–एक वटा मुद्दा दर्ता छन्।

काठमाडौं प्रहरीका एसपी दानबहादुर थापाले अभिलेखमा देखिएका सबै मुद्दाको प्रकृति र घटनासँग सम्बन्धित विवरण अध्ययन गरी थप अनुसन्धान अघि बढाइने जानकारी दिएका छन्। यसरी सिंहदरबारबाटै पक्राउ परेका र एकैचोटि दर्जनको हाराहारी मुद्दा र करोडौंको बिगो देखिएका गाउँपालिका अध्यक्षमाथिको कानुनी विवाद अब थप गम्भीर बनेको छ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।