+
Search

ताजा अपडेट +

पपुलर +

रात्रिकालीन सार्वजनिक यातायातमा जोडिन भक्तपुरका पालिकालाई महानगरको प्रस्ताव

रात्रिकालीन सार्वजनिक यातायातमा जोडिन भक्तपुरका पालिकालाई  महानगरको प्रस्ताव
पालिका लाइभ
२०८३ भाद्र ३०, मंगलवार

काठमाडौं– काठमाडौं महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई प्रस्ताव गरेको छ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई उक्त प्रस्ताव गरेकी हुन्।

काठमाडौं र ललितपुरका स्थानीय तहले सञ्चालन गरेको रात्रिकालीन यातायात सेवामा जोडिन उनले भक्तपुरका स्थानीय तहलाई आग्रह गरिन्। गत वैशाख १ गतेदेखि काठमाडौं, ललितपुर, बुढानीलकण्ठ र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा साझा यातायातले रात्रिकालीन सेवा सञ्चालन गरिरहेको छ। काठमाडौं बाहिरका क्षेत्रमा सेवा विस्तार गर्नुपर्ने माग बढेकाले भक्तपुरका स्थानीय तहले पनि साझेदारी गर्नुपर्ने उनले बताइन्।

श्रमिक तथा मध्यम वर्गका लागि रात्रिकालीन बस सेवा अत्यावश्यक देखिएको उनले उल्लेख गरिन्। प्रारम्भिक चरणमा यातायात सेवा सञ्चालनमा केही घाटा देखिएकाले सबै स्थानीय तहले व्यहोर्ने गरी सेवा चलाउनुपर्नेमा उनले जोड दिइन्।

कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हाम्रो सहरलाई सुरक्षित बनाउन यातायातको अत्यन्त महत्त्वपूर्ण भूमिका हुन्छ। धेरै श्रमिक वर्गका मानिसहरू काठमाडौंमा काम गर्नुहुन्छ, तर उहाँहरूको घर भक्तपुर, ललितपुर, कीर्तिपुर, चन्द्रागिरि लगायतका ठाउँमा हुनसक्छ। काम सकेर घर फर्किनुपर्दा सार्वजनिक यातायात नपाउने समस्या उहाँहरूले भोग्दै आउनुभएको छ।’

अहिले राइड सेयरिङको सुविधा भए पनि तुलनात्मक रूपमा महँगो रहेको उनले बताइन्। उनले थपिन्, ‘सार्वजनिक यातायातको पहुँच कसरी सुनिश्चित गर्ने भन्ने विषयमा हामीले दिउँसोको सेवासँगै रात्रिकालीन सेवामा पनि सुधार गर्नुपर्ने आवश्यकता देखेका छौँ। सेवा सञ्चालन हुने रुटसँग प्रत्यक्ष रूपमा जोडिएका पालिकाहरूले लागत साझेदारी गर्ने हो भने कुनै एउटा पालिकामाथि ठुलो आर्थिक भार पनि पर्दैन।’ संयुक्त स्वामित्व बनाएर सेवालाई दिगो रूपमा सञ्चालन गर्न सकिने उनले स्पष्ट पारिन्।

स्थानीय तहबिच समझदारी गरेर सेवा विस्तार गर्दा काठमाडौँ, ललितपुर, कीर्तिपुर, चन्द्रागिरि, भक्तपुर, थिमी र सूर्यविनायक लगायतका पालिकाले लागत साझेदारी गर्न सक्नेछन्। भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिका दुवैले काठमाडौँ महानगरको प्रस्ताव सकारात्मक रहेको भन्दै साझेदारीका लागि इच्छुक रहेको जनाएका छन्।

असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने गरी तयारी थालिएको छ। उपत्यकाको उत्तर-दक्षिण र पूर्व-पश्चिम दुवै भागलाई जोड्ने गरी सेवा थालनी गर्न लागिएको हो।

यसअन्तर्गत गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरिको नागढुङ्गासम्म ४ वटा र कीर्तिपुरदेखि नयाँ सडक नेपाल वायुसेवा निगमसम्म ४ वटा बस चल्नेछन्।

चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन्। चक्रपथमा यातायात सेवा उपलब्ध भएपछि एक ठाउँमा बस परिवर्तन गरेर सेवा सञ्चालन भएका हरेक ठाउँमा पुग्न सकिनेछ। यसरी यात्रा गर्दा अधिकतम ८० रुपियाँ भाडा लाग्नेछ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।