काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक २६ जना प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरूको सरुवा गरेको छ।
मन्त्रालयको निर्णयअनुसार गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाललाई मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ। उनको स्थानमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रेम सुवेदीलाई गोरखाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ।
सरुवा सूचीअनुसार मन्त्रालयले विभिन्न ५ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई गृह मन्त्रालयमा सरुवा गरेको छ।
गृहमा सरुवा हुनेहरूमा कपिलवस्तुको वाणगंगा नगरपालिकाका भक्तिराम मरासिनी, लमजुङको सुन्दरबजार नगरपालिकाका रमेश घर्ती, नवलपरासी पश्चिमको सुनवल नगरपालिकाका शेषकान्त पौडेल, पाल्पाको रामपुर नगरपालिकाका सूर्यदर्शन पण्डित र नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाका रामचन्द्र लामगाडे रहेका छन्।
पाँच अधिकृतहरू गृह मन्त्रालयमा सरुवा भएसँगै रिक्त रहेका ती स्थानीय तहहरूमा नयाँ प्रमुख प्रशासकीय अधिकृतहरू खटाइएको छ। जसअनुसार राष्ट्रपति कार्यालयका ईश्वरप्रसाद पाण्डेलाई वाणगंगा नगरपालिका, स्याङ्जाको भीरकोट नगरपालिकाका लक्ष्मण लम्साललाई सुन्दरबजार नगरपालिका, राष्ट्रिय योजना आयोगकी दुर्गा बन्जाडेलाई सुनवल नगरपालिका, उद्योग विभागकी इन्द्रकुमारी थपलिया पाण्डेलाई रामपुर नगरपालिका र जिल्ला समन्वय समिति लमजुङका महेश सुवेदीलाई गैँडाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ।
यसैगरी, राष्ट्रिय योजना आयोगमा कार्यरत अनिता पौडेललाई स्याङ्जाको भीरकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेर पठाइएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया