काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित तथा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यसँग प्रधानमन्त्री शाहले छलफल गरिरहेका हुन्।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उत्पन्न अवस्था, उद्धार तथा राहतको प्रगति, तत्कालीन समस्या र अब चाल्नुपर्ने कदमबारे छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। विशेषगरी बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, प्रभावित नागरिकको पुनः स्थापना र दीर्घकालीन पुनरुत्थानका विषयमा स्थानीय जनप्रतिनिधिबाट सुझाव लिइनेछ।
छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्य विक्रम तिमिल्सिना र अच्युतम लामिछाने सहभागी छन्। त्यस्तै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढीका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी सहभागी छन्।
रसुवाबाट उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ सहभागी छन्। गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भने अनलाइनमार्फत छलफलमा जोडिएका छन्।
धादिङबाट गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेकका अध्यक्ष परशुराम खतिवडा, गजुरीका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलिया सहभागी छन्। त्यसैगरी तनहुँका देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना पनि छलफलमा सहभागी छन्।
बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको वास्तविक अवस्था स्थानीय तहका प्रमुखबाटै बुझेर तत्कालीन राहतदेखि पुनर्निर्माणसम्मको योजना बनाउने उद्देश्यले छलफल आयोजना गरिएको बताइएको छ।
प्रतिक्रिया