+
Search

ताजा अपडेट +

पपुलर +

स्टार्टअप व्यवसायलाई सहुलियतपूर्ण कर्जा दिन आगामी वर्ष ८१ करोड बजेट

स्टार्टअप व्यवसायलाई सहुलियतपूर्ण कर्जा दिन आगामी वर्ष ८१ करोड बजेट
पालिका लाइभ
२०८३ असार १३, शनिबार

काठमाडौं– सरकारले स्टार्टअफ व्यवसायलाई सहुलियतपूर्ण कर्जा दिन आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ८१ करोड बजेट विनियोजन गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार सो कार्यक्रमका लागि कुल ८० करोड ८५ लाख रुपैयाँ बजेट राखिएको छ ।

सरकारले स्टार्टअप व्यवसायीलाई औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत छनोट गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को तुलनामा यस कार्यक्रमलाई बजेट वृद्धि गरेको देखिएको छ । चालु आवमा ३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन सरकारले ७३ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

आगामी आवमा सरकारले उद्यमशीलता स्टार्टअप प्रवद्र्धन गर्न, लगानी वातावरण सुधार तथा व्यवसाय दर्ता प्रक्रियालाई सरल, छिटो र झन्झटरहित बनाउन स्टार्टअप फास्ट ट्र्याक प्रणाली लागु गर्ने तयारी गरेको छ । सो प्रणालीको सर्वेक्षण तथा अनुसन्धानका लागि समेत मन्त्रालयले बजेट विनियोजन गरेको छ ।

उद्यम गर्न उत्प्रेरित युवालाई उद्यमशिलता विकास सचेतना, परामर्श तथा उद्यमशीता विकास तालिम सञ्चालन गर्न समेत १३ लाख बजेट राखेको छ ।

आगामी आवमा सिर्जनशील सोच भएका युवालाई व्यवसाय गर्न उत्प्रेरित गर्ने तथा हाल व्यवसाय गरिरहेका उद्यमीलाई स्केलअप गर्न अभिमुखीकरण र बुटक्याम्प कार्यक्रम समेत चलाइने भएको छ ।

आगामी आवमा स्टार्टअप नेसन २०३० राष्ट्रिय स्तरको सम्मेलन आयोजना हुने भएको छ । साथै व्यवसाय सम्बर्द्धन केन्द्रको फ्याव ल्याव स्थापना र सञ्चालन गर्न समेत बजेट विनियोजन गरिएको छ ।

स्टार्टअप उद्यमको डिजिटल पोर्टल निर्माण र कार्यान्वयन समेत गरिने भएको छ ।

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।