काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को परिमार्जनका लागि देशभरबाट संकलित सुझावमा नैतिक शिक्षा, संस्कार, कृत्रिम बुद्धिमत्ता (एआई), कोडिङ, जलवायु परिवर्तन, सीप तथा उद्यमशीलतालाई प्राथमिकताका साथ समेट्नुपर्ने विषय उठेको छ।
पाठ्यक्रम विकास केन्द्रका अनुसार सातै प्रदेशका ४६ केन्द्रमा सञ्चालित सुझाव संकलन अभियानमा २५ हजारभन्दा बढी व्यक्ति सहभागी भए। २८ भन्दा बढी जिल्लाका विद्यालय, कक्षाकोठा, गाउँपालिका र नगरपालिकासम्म पुगेर विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालासँग प्रत्यक्ष अन्तरक्रिया गरिएको हो।
केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले भने, ‘कक्षाकोठामै पुगेर विद्यार्थी र शिक्षकसँग पाठ्यक्रम कार्यान्वयनको अवस्था तथा उनीहरूले भोगिरहेका समस्या र आवश्यक सुधारका विषयमा पृष्ठपोषण लिएका छौँ।’ उनका अनुसार पाठ्यक्रम गतिशील दस्ताबेज भएकाले समयअनुसार परिमार्जन अपरिहार्य छ।
पाठ्यक्रमलाई व्यवहारिक बनाउनुपर्ने सुझाव
सरोकारवालाले पाठ्यक्रमलाई थप चुस्त, लचिलो र व्यवहारिक बनाउनुपर्ने सुझाव दिएका छन्। विद्यालय तहदेखि नै सीप, व्यावसायिक ज्ञान तथा उद्यमशीलता विकासमा जोड दिनुपर्ने, सूचना प्रविधिको तीव्र विकासलाई ध्यानमा राख्दै एआई र कोडिङलाई पाठ्यक्रमसँग जोड्नुपर्ने माग उठेको छ। जलवायु परिवर्तन, विपद् व्यवस्थापन र नैतिक शिक्षा तथा संस्कारमा आधारित शिक्षालाई बलियो बनाउनुपर्ने विषय पनि प्राथमिकतामा परेको केन्द्रले जनाएको छ।
शिक्षक तयारी र मूल्याङ्कन प्रणालीमा सुधारको माग
पाठ्यक्रम मात्र परिवर्तन गरेर अपेक्षित शैक्षिक उपलब्धि हासिल नहुने भन्दै सरोकारवालाले शिक्षकको पेशागत विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्। मूल्याङ्कन प्रणालीमा समावेशिता बढाउनुपर्ने र विद्यालयमा ‘बुक फ्री डे’ तथा ‘ब्यागलेस डे’ जस्ता अभ्यासलाई प्रभावकारी बनाउनुपर्ने सुझावसमेत प्राप्त भएको छ।
यसअघि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहितको उच्चस्तरीय टोलीले भदौ २६ देखि २९ गतेसम्म मधेश प्रदेशका विभिन्न जिल्लामा पुगेर विद्यार्थी तथा सरोकारवालासँग छलफल गरेको थियो।
केन्द्रका अनुसार सरोकारवालाबाट प्राप्त सुझावसँगै विज्ञहरूले तयार पारेका १२ वटा थिमेटिक पेपर तथा अनुसन्धान प्रतिवेदनका निष्कर्षलाई पनि पाठ्यक्रम परिमार्जनको आधार बनाइनेछ। सबै सुझावको विश्लेषण गरी राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनको कार्य अघि बढाइने केन्द्रले जनाएको छ।
प्रतिक्रिया