काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा अनधिकृत रूपमा परिवर्तन गरिनु सामान्य घटना नभएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत कोइरालाले ‘कुलिङ अफ पिरियड’का सम्बन्धमा गरिएको अनधिकृत परिवर्तन घोर अपराध र सार्वभौम संसद्प्रतिको अपमान भएको बताएका हुन्।
आइतबार प्रतिनिधिसभाबाट पारित विधेयकमा निजामती सेवाबाट अवकाश पाएको कर्मचारीले कम्तीमा दुई वर्षसम्म अर्को कुनै नियुक्ति लिन नपाइने प्रावधान राखिएको थियो।
तर त्यो प्रावधानलाई निष्प्रभावी बनाउने गरी त्यसमा ‘बाहेक’ भन्ने शब्द घुसाइएपछि अहिले त्यसले चौतर्फी बहस सिर्जना गरेको छ।
‘सर्वसम्मतिबाट संसद्मा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु, गराइनु कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम सांसदप्रति गरिएको अपमान हो,’ नेता कोइरालाले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस प्रकरणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाऊँ। कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढ्नु हुँदैन र बढ्दैन।’


















