+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रिपरिषद बैठक : गोरखापत्र संस्थानका महाप्रबन्धक पदमुक्त, राष्ट्रपतिको कतार भ्रमण स्वीकृत

मन्त्रिपरिषद बैठक : गोरखापत्र संस्थानका महाप्रबन्धक पदमुक्त, राष्ट्रपतिको कतार भ्रमण स्वीकृत
पालिका लाइभ
२०७५ कार्तिक १२, सोमबार

काठमाडौं- सरकारले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्  बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सरकारले सरकारी निकायमा विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ । अब सरकारी निकायमा विद्युतीय पत्राचारले पनि मान्यता पाउने भएको छ । उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले महाप्रबन्धकमा नियुक्त गरेको थियो ।

बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुने मित्र राष्ट्र कतार भ्रमण स्वीकृत गरेको छ । राष्ट्रपति भण्डारी कतारका अमिर शेख तालिम विन हमद अल थानीको निमन्त्रणामा यही कात्तिक १२ देखि १५ गतेसम्म प्रतिनिधिमण्डलका साथ त्यहाँको भ्रमण गर्दै छन्।

नेपाल–कतारबीच द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्ने सो भ्रमणको मुख्य उद्देश्य रहेको छ । उक्त अवसरमा कृषि तथा पशुपक्षी विकाससम्बन्धी, स्वास्थ्यसम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी तथा दुवै देशका कूटनीतिक राजधानी वाहकका लागि प्रवेशाज्ञा छुट दिने समझदारी पत्रमा हस्ताक्षर हुने तयारी छ ।

बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टलाई नेपाल–मलेसिया सरकारबीच कामदार आपूर्तिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी प्रदान गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।