काठमाडौं– अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो खसेको छ।
पहिरोका कारण कृष्णभिर र तिगराङ खोलामा सडक दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य पाँच स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालका अनुसार कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको हो।
कृष्णभिरमा दुईवटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। तर अन्य स्थानमा लगातार वर्षा भइरहनुका साथै पहिरो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन समस्या भइरहेको दाहालले बताए।
‘पृथ्वी राजमार्गका विभिन्न सात ठाउँमा पहिरो खसेको छ। जसमध्ये कृष्णभिर र तिगराङ खोलामा सडक दुईतर्फी अवरुद्ध छ,’ दाहालले भने।
पहिरोका कारण अन्य स्थानमा सडक एकतर्फी सञ्चालनमा रहे पनि वर्षा र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सञ्चालनमा जोखिम रहेको प्रहरीले जनाएको छ।













