काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जलवायु न्याय, विश्वव्यापी असमानता र बहुपक्षीयताको आवश्यकतामाथि जोड दिएका छन्।
उनले हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्ठित तथा अतिकम विकसित देश र अझै जन्मिन बाँकी पुस्ताको भविष्यलाई समान महत्त्व दिनुपर्ने बताएका छन्।
शाहले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने बताए। जलवायु परिवर्तनको प्रभाव कसले भोगिरहेको छ र त्यससम्बन्धी निर्णय प्रक्रियामा कसको आवाज सुनिन्छ भन्ने विषय पनि न्यायसँग जोडिने उनको भनाइ थियो।
‘जलवायु न्याय भनेको केवल पैसाको विषय होइन। यो वितरणात्मक न्यायको विषय पनि हो– यसको मूल्य कसले चुकाउँछ ? यो प्रक्रियागत न्यायको विषय हो– निर्णय प्रक्रियामा कसको आवाज सुनिन्छ ?’ उनले प्रश्न गरे।
नेपालले बहुपक्षीयतामा विश्वास गर्ने बताउँदै शाहले सानो र गरिब देशको उपस्थितिको समेत अर्थ हुने संयुक्त राष्ट्रसंघ आवश्यक रहेको बताए। सामूहिक प्रयासबाट ठोस परिणाम हासिल गर्न सक्ने अन्तर्राष्ट्रिय प्रणाली आवश्यक रहेको उनको भनाइ थियो।
शाहले युद्धका लागि छोटो समयमा ठूलो स्रोत र साधन परिचालन गर्न सक्ने विश्वले किसानलाई सम्मानजनक जीविकोपार्जनका लागि आवश्यक वस्तु उपलब्ध गराउन नसक्ने अवस्थामाथि प्रश्न उठाए। भुक्तानी गर्न सक्ने देशले आवश्यक वस्तु खरिद गर्न पाउने अवस्था हुनुपर्ने उनले बताए।
उनले भने, ‘जुन देश खरिदका लागि भुक्तानी गर्न तयार छ, उसले आवश्यक वस्तु किन्न सक्नुपर्छ । अनि ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्याउन सक्ने विश्वसँग कुनै किसानलाई सम्मानजनक जीविकोपार्जनको साधनबाट वञ्चित राख्ने कुनै बहाना छैन।’
सम्बोधनका क्रममा शाहले नेपालमा नयाँ पुस्ताका आकांक्षा प्रतिबिम्बित गर्ने नयाँ लोकतान्त्रिक जनादेश प्राप्त भएको उल्लेख गर्दै नेपाली युवाले इमानदारीको राजनीति माग गरेको बताए। आफू यस वर्ष महासभालाई सम्बोधन गर्ने सबैभन्दा कम उमेरका सरकार प्रमुख भएको आफूलाई बताइएको उल्लेख गर्दै उनले आफू उक्त विषयलाई समाचार बनाउन नभई विश्वसामु नेपालको दृष्टिकोण राख्न आएको बताए।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउँदै शाहले संयुक्त राष्ट्रसंघमै हुने ‘सगरमाथा टु सी’ कार्यक्रममार्फत जलवायु न्यायसम्बन्धी विश्वव्यापी छलफलमा नेपालले योगदान गर्ने बताए।
शाहले विश्व अहिले गहिरो अनिश्चितताको अवस्थामा रहेको पनि बताए। जलवायु संकट, असमानता र विश्वव्यापी सहकार्यको आवश्यकताबीच नेपालजस्ता देशको आवाज अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा समेटिनुपर्ने उनको जोड थियो।
सम्बोधनको अन्त्यमा शाहले नेपालको आध्यात्मिक तथा सांस्कृतिक पहिचानलाई विश्व शान्तिसँग जोड्दै भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन् । यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् । धन्यवाद, नमस्ते।’













