+
Search

ताजा अपडेट +

पपुलर +

गन्तव्य गाउँ बन्दै दगाम, घरबास प्रवर्द्धनमा जोड

गन्तव्य गाउँ बन्दै दगाम, घरबास प्रवर्द्धनमा जोड
पालिका लाइभ
२०८३ आश्विन ७, बुधबार

तनहुँ– शुक्लागण्डकी नगरपालिका–२ को दगाम गाउँ दृश्यावलोकनका लागि मात्रै परिचित छैन। मगर समुदायको मौलिक जीवनशैली, खानपान, संस्कृति र आतिथ्य यहाँ पुग्ने पर्यटकका लागि आकर्षण बन्न थालेको छ। गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले दगामलाई गन्तव्य गाउँका रूपमा सिफारिस गरेपछि यसको चर्चा अझ बढेको छ।

भिटोफले हरेक वर्ष तीनवटा गाउँलाई गन्तव्य गाउँका रूपमा सिफारिस गर्दै आएको छ। यस वर्ष दगाम पनि त्यसमा परेको हो। ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नारासहित गाउँलाई पर्यटनसँग जोड्ने अभियानमा आफूहरू लागिरहेको भिटोफ गण्डकीका अध्यक्ष रमेश अर्यालले बताए।

अन्नपूर्ण हिमालको पदयात्राको प्रवेशद्वार र पहाडी भूगोलका कारण गण्डकी प्रदेशमा गाउँ पर्यटनको सम्भावना धेरै रहेको उनले बताए।
गण्डकी प्रदेशबाट यसअघि गन्तव्य गाउँका रूपमा सिफारिस भएका अधिकांश गाउँमा गुरुङ समुदायको बाहुल्यता थियो। दगाममा भने २३ घरमध्ये २० घर मगर र तीन घर गुरुङ समुदायका छन्। मगर समुदायको मौलिक भेषभूषा, नाचगान र संस्कृति यहाँको प्रमुख विशेषता हो।

२०६५ सालमा सिरुबारी गाउँको अवलोकन गरेपछि स्थानीयले मिलेर दगाम सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका थिए। अहिले पोखरासहित भैरहवा, बुटवल, नारायणगढ र काठमाडौंलगायतका ठाउँबाट पर्यटक दगाम पुग्न थालेका छन्। होमस्टे संयोजक नन्द थापाका अनुसार दगामबाट चारैतिरका डाँडाकाँडाको दृश्यावलोकन गर्न सकिन्छ। एउटै ठाउँबाट धौलागिरि हिमालका विभिन्न चुचुरादेखि गणेश हिमालसम्म देखिने भएकाले दगाम पर्यटकको रोजाइमा पर्न थालेको उनले बताए।

होमस्टेमा स्थानीय उत्पादनबाट तयार गरिएका परिकार पाहुनालाई खुवाउने गरिएको छ। कोदो, मकै, पिँडालु र सिस्नुबाट तयार गरिएका परिकारसँगै गाउँमै उत्पादन भएको महसमेत पाहुनालाई दिने गरिएको थापाले बताए। आन्तरिक पर्यटक मुना कोइरालाले दगामको प्राकृतिक सौन्दर्यसँगै स्थानीय खानपान र संस्कृतिले आफूलाई आकर्षित गरेको बताइन्।

उत्तरतर्फ देखिने हिमशृंखला, डाँडाकाँडा र प्राकृतिक दृश्यले मन लोभ्याएको बताउँदै उनले स्थानीय उत्पादनबाट तयार गरिएका परिकारले नयाँ अनुभव दिएको उल्लेख गरिन्। स्थानीय सांस्कृतिक नृत्य हेर्नुका साथै समुदायको संस्कृति र जीवनशैलीलाई नजिकबाट बुझ्ने अवसरसमेत पाएको उनले बताइन्।

शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले दगाम होमस्टेलाई नगरपालिकाले राष्ट्रिय तथा प्रादेशिक प्राथमिकतामा राखेर विकास गरिरहेको बताए। सरसफाइ, सुरक्षा र इन्टरनेटलगायतका सुविधा विस्तार गर्नुका साथै पर्यटनसम्बन्धी निकाय र पोखरा महानगरपालिकासँग सहकार्य गरेर पोखराबाट पर्यटक ल्याउने प्रयास भइरहेको उनले बताए।

यसैबीच, भिटोफ गण्डकीले दगाममा असोज ५ र ६ गते घरबास प्रवर्द्धन कार्यक्रम गरेको छ। ४७औँ विश्व पर्यटन दिवसको अवसरमा ‘डिजिटल एजेण्डा र कृत्रिम बुद्धिमत्तामार्फत पर्यटनको नयाँ स्वरूप निर्माण’ भन्ने नाराका साथ दगाम सामुदायिक होमस्टेको स्थानीय आयोजनामा कार्यक्रम गरिएको हो।

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।