काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमाससम्म अधिकांश वाणिज्य बैंकहरुको नाफा घटेको छ ।
बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार यस अवधिमा १५ वाणिज्य बैंकको नाफा घटेको छ भने ५ वटाको मात्र बढेको छ । समग्रमा वाणिज्य बैंकहरुको नाफा साढे १८ प्रतिशत बढीले खुम्चिएको छ ।
अधिकांश बैंकहरुको कर्जा असुलीमा सुधार नहुँदा नाफामा घटेको हो । बैंकहरुको ऋण असुलीमा समस्या आउँदा र व्यवस्थापकीय खर्च वृद्धि भएको छ । जसले गर्दा अधिकांश बैंकहरुको नाफा खुम्चिएको हो ।
लामो समयदेखि बैंकहरुमा अधिक तरलताको अवस्था समस्या रहेको छ । बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन् । बैंकहरुको व्यवसाय बढ्न नसक्दा पनि नाफा खुम्चिएको हो। अर्कातर्फ बैंकहरुले निरन्तर ब्याजदर घटाउँदै लगेका छन । ब्याजदर घटेकाले पनि बैंकहरुको आम्दानी खुम्चिन पुगेको हो।
साथै कर्जा असुली प्रभावित हुँदा बैंकहरुको खराब कर्जा बढ्न गएको छ । कर्जा नोक्सानी व्यवस्थापन बापतको खर्च बढेकाले पनि नाफा संकुचित भएको बैंकरहरु बताउँछन । आगामी दिनमा अर्थतन्त्र चलायमान हुनुका साथै लगानीको वातावरण सुधारिए बैंकहरुको नाफा पुनः बढ्ने सम्भावना रहेको छ।
चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमाससम्म २० वाणिज्य बैंकहरुले १३ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। जुन गत आवको यसै अवधिको तुलनामा १८.७८ प्रतिशत कम हो । गत वर्ष सोही अवधिमा बैंकहरुले १६ अर्ब १८ करोड रुपैयाँ मुनाफा कमाएका थिए ।
असोज मसान्तसम्मको विवरण अनुसार संचालनमा रहेका २० मध्ये ५ बैंकको मात्र नाफा बढेको छ । सिटिजन्स बैंकको नाफा ऋणात्मक रहदा १४ बैंकको नाफा खुम्चिएको छ । यस अवधिमा राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट, ग्लोबल, सानिमा र एनआइसी एसिया बैंकको नाफा बढेको छ । सिटिजन्स बैंकको नाफा ऋणात्मक रहदा नबिल, नेपाल इन्भेष्टमेन्ट, स्टान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल एसबिआइ, एनआइसी एशिया, कुमारी, कृषि विकास र प्रभु बैंकको नाफामा गिरावट आएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा धेरै २९५.०४ प्रतिशतले बढेको छ भने एभरेष्ट बैंककको नाफा सबैभन्दा कम ४.६३ प्रतिशतले वृद्धि भएको छ। सबैभन्दा धेरै नाफा गर्नेमा भने ग्लोबल आइएमई बैंक छ । बैंकले १ अर्ब ८५ करोड नाफा गरेको छ। सिटिजन्स बैंकको नाफा २२ करोड ऋणात्मक रहेको छ।
सबैभन्दा बढी नाफा कमाउने ग्लोबल आइएमई बैंकले ३ महिनामा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
दोस्रो स्थानमा रहेको नबिले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ५ बैंकहरुको नाफा एक अर्ब माथि रहेको छ । ग्लोबल आइएमई, नबिल, प्राइम, एभरेष्ट र कुमारी बैंकले एक अर्ब बढी नाफा गरेका छन ।
समीक्षा अवधिमा १४ वाणिज्य बैंकहरुको नाफा घटेको छ ।
जसमध्ये कृषि विकास बैंकको नाफा सर्वाधिक ९६.९९ प्रतिशत घटेको छ। त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९६.९२ प्रतिशत घटेको छ भने प्रभु बैंककोको ४६.३३ प्रतिशत घटेको छ। सिटिजन्स बैंक इन्टरनेसनल २२ करोड ४ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ ।
प्रतिक्रिया