+
Search

ताजा अपडेट +

पपुलर +

सिरहा घटनाबारे शिक्षामन्त्री पोखरेलको प्रस्टीकरण : भिडियो बङ्ग्याएर नियोजित भ्रम फैलाइयो

पालिका लाइभ
२०८३ भाद्र २७, शनिबार

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिरहामा आयोजित कार्यक्रममा भएको अवरोधबारे प्रस्टीकरण दिँदै घटनाको भिडियो बङ्ग्याएर नियोजित रूपमा भ्रम फैलाइएको दाबी गरेका छन्।

सिरहाको औरही गाउँपालिकामा शनिवार पाठ्यक्रम विकास केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दाबोल्दै मन्त्री बाहिरिनु परेको विषय सामाजिक सञ्जालमा भाइरल भएपछि उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उक्त कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, अभिभावक र विद्यार्थी लगायत सरोकारवालाहरूले सुझाव राखिसकेपछि औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवले आफ्नो मन्तव्य राखेका थिए। त्यसपछि बोल्ने वक्ताको सूचीमा जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेशकुमार महतोको नाम थियो।

तर, महतोलाई बोल्न समय नदिई सिधै प्रमुख अतिथिका रूपमा शिक्षामन्त्री पोखरेललाई सम्बोधनका लागि मञ्चमा बोलाइएपछि विवाद सुरु भएको थियो। सभापति महतोले आफूलाई बोल्न किन नदिएको भन्दै प्रश्न उठाएपछि कार्यक्रमस्थलमा होहल्ला र सामान्य तनावको स्थिति बनेको थियो।

घटनाबारे प्रस्ट पार्दै मन्त्री पोखरेलले कार्यक्रमस्थलमा दुई जना व्यक्तिले मात्र होहल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित नहोस् भन्ने उद्देश्यले आफू त्यहाँबाट बाहिरिएको बताएका छन्।

उनले एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ बङ्ग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास भएको भन्दै आपत्ति जनाएका छन्। लोकतान्त्रिक पद्धतिमा असहमति जनाउने अधिकार सबैलाई भए पनि पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु वा नियोजित भ्रमको पछि लाग्नु उचित नहुने उनको तर्क छ।

कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव यादवले पनि मन्त्री लखेटिएको भन्ने हल्ला पूर्ण रूपमा गलत भएको स्पष्ट पारे। उनले भने, ‘मन्त्रीज्यूले छोटो सम्बोधन गर्नुभयो। कार्यक्रममा सामान्य विवाद र होहल्ला भएपछि उहाँ सम्बोधन छोट्याएर निस्किनुभएको हो, लखेटिएको होइन।’

उक्त कार्यक्रममा रास्वपाका अर्का सांसद पुरुषोत्तम यादवको पनि सहभागिता रहेको थियो। अर्कातर्फ समन्वय समितिका सभापति महतोले भने वक्ताको सूचीमा आफ्नो नाम हुँदाहुँदै पनि धारणा राख्न नदिएका कारण आफूले प्रश्न उठाएको बताएका छन्।

विद्यालय शिक्षालाई थप व्यावहारिक, सीपमूलक र समयसापेक्ष बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि मन्त्री पोखरेल केही दिनदेखि मधेश प्रदेशका विभिन्न जिल्लामा सुझाव संकलनका क्रममा छन्।

आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने गरी ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता नवीन अवधारणाबारे प्रत्यक्ष संवाद भइरहेको छ।

सिरहाको घटनाले आफ्नो अभियान नरोकिने उल्लेख गर्दै मन्त्री पोखरेलले कुनै पनि भ्रामक प्रचारले शिक्षा सुधारको मूल उद्देश्य प्रभावित नहुने दृढता व्यक्त गरे। उक्त घटनापछि पनि आफूहरू सिरहाकै बहिरा बालबालिका पढ्ने विद्यालय तथा मदरसा शिक्षालयसहित ८–१० वटा विद्यालयमा पुगेर फलदायी रूपमा सुझाव संकलन कार्यमा जुटेको र अब सप्तरी हुँदै मोरङतर्फ लाग्ने उनले जानकारी दिएका छन्।

मधेश प्रदेशमा पार्टीको बढ्दो प्रभाव र शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक काम देखेर असन्तुष्ट पक्षले भ्रम फैलाउन खोजेको बताउँदै उनले आफ्नो काम र नियतको मूल्याङ्कन जनता स्वयंले गर्ने दाबी गरे।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ