काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग उपलब्ध गराएको छ ।
बाढीका कारण घरबारविहीन भएका तथा प्रभावित परिवारलाई थप सहयोग पुर्याउने उद्देश्यले बैंकले बिहीबार जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको हो ।
बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दीपेन्द्रबाबु विष्टले राहत सामग्री जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरे ।
यसअघि पनि बैंकले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो ।
अकल्पनीय विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति प्रभु बैंकले श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै सम्पर्कविहीन व्यक्तिको उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित समुदायप्रति समवेदना व्यक्त गरेको छ ।
प्रतिक्रिया