काठमाडौं– नबिल बैंकले भर्चुअल डलर कार्डका सञ्चालनमा ल्याएको छ। अन्तर्राष्ट्रिय अनलाइन कारोबार, सदस्यता सेवा र डिजिटल सामग्री खरिदलाई सहज बनाउने उद्देश्यले भर्चुअल डलर कार्ड सेवा ल्याएको हाे ।
यो डिजिटल कार्ड अमेरिकी डलरमा आधारित भिसा प्रणाली अन्तर्गत सञ्चालन हुनेछ । यसले भौतिक कार्ड बिना नै विश्वभरका अनलाइन प्लेटफर्ममा सहजै कारोबार गर्न सकिन्छ ।
नबिलको भर्चुअल डलर कार्डबाट प्रयोगकर्ताले एक आर्थिक वर्षमा अधिकतम ५०० अमेरिकी डलरसम्मको अनलाइन भुक्तानी गर्न सक्छन् ।
बैंकका अनुसार विदेशबाट वार्षिक ५ हजार अमेरिकी डलरसम्मको रकम प्राप्त गर्न सकिनेछ र रकम अनलाइनबाट पनि भुक्तानी गर्न सकिन्छ ।
यस्तो प्राप्त रकम आफ्नै नबिल खातामा तुरुन्तै ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको बैंकले जनाएको छ ।
जसले गर्दा यो सेवा विभिन्न पेसाकर्मी, साना व्यवसायी, डिजिटल कारोबार गर्नेहरू लगायतलाई निकै उपयोगी हुने जनाइएको छ ।
यो सेवा लिनका लागि नबिल बैंकमा खाता भने अनिवार्य रूपमा हुनैपर्छ । यसका साथै खाता खोल्नेसँग स्थायी लेखा नम्बर (प्यान कार्ड) पनि अनिवार्य रूपमा हुनैपर्छ । यस्ता ग्राहकले ‘एनबैंक’ मोबाइल एप प्रयोग गरी सजिलै अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन स्वीकृत भएपछि ग्राहकको नाममा अमेरिकी डलरमा आधारित डिजिटल कार्ड जारी हुन्छ । यो कार्य सिधै मोबाइल एपबाटै हेर्न, लोड गर्न र प्रयोग गर्न सकिन्छ । यसका लागि ग्राहक कार्ड कै लागि भनेर बैंकसम्म पुग्नु परेन ।
ग्राहकले आफ्नो नबिल खाताबाट कार्डमा रकम लोड गरेर अनलाइनबाट अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने छ ।
विदेशबाट प्राप्त हुने रकम पनि कार्डमार्फत झिक्न सकिने भएकाले यो सेवा डिजिटल आम्दानी गर्ने नेपालीहरूका लागि अझ सुलभ र व्यवहारिक देखिएको बैंकले जनाएको छ ।
सुरक्षाको दृष्टिले पनि योमा कार्ड उच्चस्तरीय प्रविधि अपनाइएको छ । कार्ड प्रयोगको बेला सिभिभी कोड, एकपटक प्रयोग हुने ओटीपी, म्याद सकिने मिति लगायतका प्रमाणीकरण प्रणाली लागू गरिएका छन् । साथै, हरेक कारोबारको जानकारी सेवाग्राहीले तुरुन्तै मोबाइल सन्देश तथा इमेल मार्फत पाउने बैंकले जनाएको छ ।
यो कार्डलाई मोबाइल एपमार्फत सक्रिय वा निष्क्रिय गर्न सकिन्छ । यो कार्ड चार वर्षसम्म मान्य हुनेछ । डिजिटल कारोबारको आवश्यकता बढ्दो क्रममा रहेको छ ।
नबिल बैंकको यो नवीनतम सेवा नेपाली ग्राहकहरूका लागि सुरक्षित, भरपर्दो र सजिलो विकल्प बन्ने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
यो कार्ड नेपालीहरूलाई देशभित्रै बसेर अन्तर्राष्ट्रिय सेवा र कारोबार गर्न सघाउने माध्यम हो ।
यसलाई बैंकले प्रविधिको क्षेत्रमा नयाँ प्रविधिगत फड्को भएको दाबी गरेको छ । यसले बैंकिङ प्रणालीलाई डिजिटल रूपान्तरणतर्फ थप अघि बढाउने बैंकले जनाएको छ ।
नेपालको बैंकिङ इतिहासमा डिजिटल सेवा सुरुवात गर्ने पहिलो बैंकका रूपमा परिचित नबिल बैंकले प्रविधि र नवप्रवर्तनलाई आफ्नो स्थायी परिचय बनाउँदै आएको छ । सन् १९८४ मा स्थापना भएको यो बैंकले हाल २६८ शाखा र ३२० एटिएममार्फत २४ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिँदै आएको जनाएको छ ।
डिजिटल बैंकिङतर्फको बढ्दो झुकाव र प्रतिस्पर्धी बजारमा नबिलको यो नयाँ सेवा अर्को कोसेढुङ्गो साबित हुने विश्लेषण गरेको जनाएको छ ।
प्रतिक्रिया