काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र आर्थिक विकास सम्भव हुने बताएकी छन्।
बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारण सभामा निजी क्षेत्रले लगानी विस्तार नगरे समृद्धिको लक्ष्यमा पुग्न नसकिने बताइन्।
उनले सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्न विभिन्न नीतिगत तथा कानुनी जटिलता फुकाएको भन्दै निर्धक्क भएर लगानी विस्तार गर्न आग्रह गरिन्।
‘आर्थिक विकास र समृद्धिको बाधकका रूपमा देखिएको राजनीतिक अस्थिरतालाई चिर्न वर्तमान सरकार गठन भएको हो,’ उनले भनिन्, ‘निजी क्षेत्रले काम गर्ने वातावरण बनेन भने मुलुकले समृद्धि हासिल गर्न सक्दैन। त्यसैले सरकार बनेदेखि नै आर्थिक समृद्धिका बाधक ऐन, कानुन परिमार्जन गर्ने प्रक्रिया अघि बढेको छ। अब निजी क्षेत्रले पनि विना हिच्किचाहट लगानी बढाउनुपर्छ। निजी क्षेत्रले नै अर्थतन्त्रलाई ड्राइभ गर्ने हो।’
उनले पछिल्लो समय वैदेशिक सहायता केही कमी भए पनि निरुत्साहित हुन नहुने बताइन्।
प्रतिक्रिया