काठमाडौं– ग्लोबल आइएमई बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित २०औँ वार्षिक साधारण सभा असोज १६ गते गर्ने भएको छ। सभाबाट प्रस्ताव स्वीकृत भएपछि शेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप ७००.४४ अर्ब रुपैयाँ पुगेको छ। कुल कर्जा लगानी ४७६.८४ अर्ब रुपैयाँ र चुक्ता पुँजी ३८.११६ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ।
समीक्षा अवधिमा बैंकले ६.०३६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो। बैंकको निक्षेप २१.८० प्रतिशत र कर्जा लगानी ८.२२ प्रतिशतले वृद्धि भएको छ।
दुई दशकको व्यावसायिक यात्रा पूरा गरेको बैंकले वित्तीय आकारसँगै ग्राहक आधार, सेवा सञ्जाल र डिजिटल बैंकिङ क्षमता विस्तार गर्दै आएको जनाएको छ।
हाल बैंकका देशभर ३४१ शाखा, ३६६ एटीएम, १४१ शाखारहित बैंकिङ सेवा तथा ६९ वटा विस्तारित काउन्टर र राजस्व संकलन काउन्टर सञ्चालनमा छन्। विदेशमा बैंकका तीनवटा प्रतिनिधि कार्यालय रहेका छन्।
बैंकले विभिन्न सेवा माध्यममार्फत देशभर एक हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको जनाएको छ।







