काठमाडौं– नेपाली कांग्रेसको विवाद मिलाउन आज विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच वार्ता हुने भएको छ ।
सभापति शेरबहादुर देउवाले औपचारिक रूपमा विशेष महाधिवेशन पक्षधरलाई छलफलका लागि बोलाएपछि समिति नै बोलाएर वार्ता गर्न लागिएको हो ।
विशेष महाधिवेशन पक्षबाट गुरु घिमिरे, देवराज चालिसे, मधु आचार्य र प्रदीप पौडेल वार्तामा सहभागी हुने बताइएको छ भने संस्थापन पक्षबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुने भनिएको छ ।
आजै बिहान ११ बजे बस्ने गरी काँग्रेसको केन्द्रीय समिति बैठक बोलाइएको छ भने विशेष महाधिवेशन पक्षधरको बन्द सत्र ९ बजेदेखि सुरु हुदैछ ।
यसअघि सोमबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भएका छलफल भने सकारात्मक नभएको बुझिएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनलाई स्वीकार गर्न तयार नभएको बताइएको छ ।
प्रतिक्रिया