काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले प्रशासनिक सुधार, क्षतिग्रस्त संरचना व्यवस्थापन र मितव्ययीता लागू गर्ने उद्देश्यले महत्वपूर्ण निर्णयहरु गरेको छ। मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले करिब दुई दर्जन निर्णय पारित गरेको हो।
बैठकले मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूमा रहेका दरबन्दीमध्ये औसत २० प्रतिशत कटौती गरी संशोधित संरचना तयार गर्ने र आगामी असोज २० भित्र मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको छ। अनावश्यक निकायलाई खारेज वा गाभ्ने प्रक्रिया तत्काल अघि बढाइने बताइएको छ।
आन्दोलनका कारण क्षतिग्रस्त भएका कार्यालय भवनलाई अस्थायी रूपमा सञ्चालन गर्न अन्य कार्यालयमा स्थानान्तरण गर्ने, भाडामा घर लिन सक्ने वा नयाँ संरचना निर्माणको तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। नियमित सेवा प्रवाह सहज बनाउन विशेष कार्यदलमार्फत सवारी साधन व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ।
जेनजी पुस्ताको मागलाई सम्बोधन गर्ने गरी सार्वजनिक सेवालाई चुस्त, मितव्ययी र प्रभावकारी बनाउन अवरोध मानिएका कार्यविधि, मापदण्ड र निर्देशिका खारेज वा संशोधन गर्ने तयारी भएको छ। सिंहदरबारभित्र अनावश्यक प्रवेश पास खारेज गरी, अत्यावश्यक अवस्थामा मात्र नयाँ पास जारी गर्ने निर्णय पनि बैठकले गरेको छ।
भाद्र २४ गतेको आगजनी र तोडफोडमा ध्वस्त भएका सवारी साधन, उपकरण तथा फर्निचरलाई नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जम्मा गरी लिलामी वा नष्ट गर्ने प्रक्रिया अघि बढाइनेछ। आवश्यक खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने र क्षतिग्रस्त संरचना तथा सामग्रीको विवरण तयार गरी पुनर्निर्माण तथा मर्मत कार्य तत्काल सुरु गरिने बैठकले स्पष्ट पारेको छ।
सार्वजनिक खर्चमा कटौती गर्ने उद्देश्यले कर्मचारी बैठक भत्ता खारेज गरिएको छ भने राष्ट्रिय स्तरका गोष्ठी, कार्यशाला तथा सेमिनार सरकारी भवनमै सीमित गर्न निर्देशन दिइएको छ। त्यस्तै, साना टुक्रे आयोजनाको रकमलाई क्षतिग्रस्त संरचना मर्मत र उपकरण खरिदमा पुनः प्रयोग गरिने भएको छ।
चाडपर्व नजिकिएकाले खाद्यान्न आपूर्ति सुनिश्चित गर्न, कालोबजारी नियन्त्रण तथा यातायात व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयलाई आवश्यक व्यवस्था मिलाउन बैठकले आदेश दिएको छ। आन्दोलनका क्रममा नष्ट भएका सम्पत्ति विवरण र मूल्याङ्कन फारामलाई पुनः संकलन गर्ने प्रक्रिया पनि अघि बढाइनेछ।



प्रतिक्रिया