काठमाडाैं– प्रतिनिधिसभाको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धि समितिको प्रतिवेदन पेस भएको छ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आइतबारको बैठकमा प्रतिवेदन पेस गरेका हुन्।
जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी गरिएको निजामती विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतीले विधेयक पारित गरेको थियो।
विधेयकमा समितिबाट अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था गरिएको छ। यी दुई विषयमा विवाद रहँदै आएको थियो।
अहिले पनि निजामती कर्मचारी संगठनहरूले यी प्रावधान हटाउन माग गर्दै आएका छन्।
मुख्यसचिव एकनारायण अर्यालसहितका सचिवहरूले हुल बाधेरै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर सच्याउन माग गरेका थिए।
प्रतिक्रिया