काभ्रे– रोशी गाउँपालिका वडा नम्बर–७ का वडाध्यक्ष अशोक गौतम पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनलाई काभ्रे भन्ज्याङ्गबाट सोमबार पक्राउ गरेको हो ।
गत २०८१ साल असोज १० देखि १३ गतेसम्मको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएको थानसिङ बेसीस्थित फलामको पुल र झोलुङ्गे पुल व्यक्तिगत रुपमा कबाडीलाई बिक्री गरेको आरोप उनी पक्राउ परेका हुन् ।
सरकारी सम्पत्ति सम्बन्धित पक्षसँग समन्वय नगरी वडाध्यक्षले मनोमानी ढंगबाट बिक्री वितरण गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए । कटुन्जेबेशीबाट रघुचौरहुँदै खार्पाचोक, कालिन्चोक र वाइबाडाडा जाने झोलुङ्गे पुल वडाध्यक्ष गौतमले बिक्री गरेको स्थानीयको आरोप छ ।
वडाध्यक्ष गौतमले छिमेकी नमोबुद्ध नगरपालिका वडा न–६ वडाध्यक्ष टिकाबहादुर केसीसँग मिलेर कवाडी व्यवसायीमार्फत पुलको सामान बेचेर आधा–आधा गर्ने गरी सहमति गरेको आरोप छ ।
वडाध्यक्ष केसीको समेत संलग्नता देखिएको प्रहरीको भनाइ छ भने उनको खोजी कार्य जारी छ ।
दुवै वडाध्यक्षबीच पुलको बाँकी सामान साझेदारी गरी आधा–आधा मूल्य बाँड्ने सम्झौतामा बिक्री गरिएको बताइएको छ । प्रहरीले घटनास्थलबाट लोड गर्न बोलाइएको दुईवटा टिपरसहित व्यवसायी र चालकलाई नियन्त्रणमा लिएको छ ।
कवाडी व्यवसायीहरूले वडा कार्यालयको सिफारिस र वडाध्यक्षहरूलाई बुझाएको भुक्तानीको प्रमाण प्रहरीलाई देखाएका थिए । त्यसकै आधारमा अभियोग दर्ता गरी अनुसन्धान अघि बढाइएको हो ।
सामान लोड गर्दै-गर्दा प्रहरीले मंटु कुमार, भारत बिहार मोतिहारी स्थायी घर, हाल बनेपा नगरपालिका-७, तरकारी बजार, उमेर ३२ वर्षको भारतीय नागरिक तेस्तै सर्लाही मलंगवा नगरपालिका-३ स्थायी घर, हाल बनेपा नगरपालिका-७, उमेर ३९ वर्षको जितेन्द्र पासवान, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-९, उमेर ४७ वर्ष, टिपर बा ५ ख ४६२६ नम्बर चालकसमेत रहेका मानबहादुर तामाङ, रोशी गाउँपालिका-८, उमेर ४० वर्ष, टिपर बा २ ख ४००१ नम्बर चालक रमेश लामालाई नियन्त्रणमा लिएको छ ।
वडाध्यक्षको निर्देशनमा सामान ढुवानी हुन् थालेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए ।
प्रतिक्रिया