काठमाडौं– माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् अवरोधलाई निरन्तरता दिने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए ।
‘गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् अवरोध कायम रहनेछ,’ सापकोटाले भने ।
बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आधारभूत वर्गको हितमा नरहेको निष्कर्ष निकाल्दै समर्थन गर्न नसकिने ठहर गरेको छ ।
बजेटबारे छलफल गर्न माओवादीले पार्टीभित्रका विज्ञहरू मीनबहादुर श्रेष्ठ, रामकुमार फुयाँल, रामनारायण विडारी, डीपी ढकाललगायतसँग सांसदहरूले अन्तरक्रिया गरेका थिए ।
प्रतिक्रिया