काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूले फैलाउन खोजेको भ्रम र जालझेलबारे जनतालाई स्पष्ट रूपमा बुझाउनुपर्ने समय आएको बताएका छन्।
आइतबार सम्पन्न वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनकारी शक्तिहरू पुनः सक्रिय बन्दै गएको उल्लेख गर्दै तदारुकताका साथ वैचारिक प्रतिवादको आवश्यकता औंल्याए।
उनका अनुसार पछिल्ला दिनमा राजाका पक्षमा गरिँदै आएको तर्क, नारायणहिटी दरबार हत्याकाण्ड, नविता र विनीता बलात्कार तथा हत्या प्रकरणजस्ता विषयहरू, मूर्ति तस्करीजस्ता मुद्दा जनतालाई सुस्पष्ट रुपमा बुझाउन जरुरी भइसकेको छ। यथास्थितिवाद र प्रतिगमनविरुद्ध गाउँ, टोल र घरदैलोमा वैचारिक अभियान सञ्चालन गर्ने बेला आएको उनको भनाइ छ।
प्रचण्डले भने, ‘राजा भनेका हत्यारा र बलात्कारी हुन्, मूर्ति चोरेर विदेश लैजाने, तस्करी गर्ने यही वर्ग हो भन्ने जनतालाई खुलस्त बुझाउनु अहिलेको आवश्यकता हो।’ उनले क्रान्ति कुनै पनि नक्कल वा पुरानो ढाँचामा मात्रै सीमित नहुने उल्लेख गर्दै क्रान्तिको बाटो देश, काल र परिस्थितिअनुसार फरक हुने बताए।
उनका अनुसार, नेपालमा जनयुद्धको अनुभव, जनआन्दोलन र शान्ति प्रक्रियाबाट आएको परिवर्तनलाई वैचारिक स्पष्टताका साथ रक्षा गर्नुपर्ने अवस्था आएको छ।
उनले वाईसीएललाई सहायक संगठन मात्र नभइ कम्युनिष्ट नेताहरू उत्पादन गर्ने कारखाना भन्दै, आगामी पुस्ताका नेतृत्व तयार पार्ने संस्था भएको बताए। ‘मैले २०३८ सालमा युवाहरूको भेलाबाट नेतृत्वमा प्रवेश गरेको अनुभवको आधारमा भन्न सक्छु, तपाईंहरू पनि नेतृत्वका लागि अघि बढ्नुपर्छ,’ प्रचण्डले भने।
उनले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रलाई परम्परागत संसदीय व्यवस्थासँग दाँज्ने प्रयासहरू भइरहेका भन्दै त्यसप्रति सचेत रहन आग्रह गरे। ‘यो कुनै पुरानो संसदीय व्यवस्था होइन, यो सर्वहारा वर्गको नेतृत्वमा बनेको समावेशी र समानुपातिक संरचना हो,’ उनले स्पष्ट पारे।
प्रचण्डले थपे, ‘संविधानको अपनत्व र स्वामित्वको रक्षा गर्नेहरूबीच आगामी दिनमा तालमेल हुन सक्छ। तर गणतन्त्रको नाममा भ्रष्टाचारको रक्षा गर्ने सरकारको गतिविधि हामीलाई स्वीकार्य छैन।’
उनका अनुसार, वर्तमान सरकारमा रहेका यथास्थितिवादी धारले भ्रष्टाचार, कुशासन र सामाजिक अन्यायलाई प्रोत्साहन गर्दै भ्रम फैलाउने काम गरिरहेका छन्। माओवादी नेतृत्वमा अघि बढाइएको सामाजिक न्याय, सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारको अभियानप्रति उनीहरूबाट लगातार षड्यन्त्र भइरहेको उनले बताए।
‘हामीलाई अहिले क्रान्तिकारी विचार, वैकल्पिक दृष्टिकोण र जनतासँगको सशक्त सम्बन्धमार्फत यथास्थितिवाद र प्रतिगमनको विरुद्ध लड्नुपर्ने चुनौती छ। विचार र राजनीतिक संघर्ष कुनै मेशिनजस्तो हुँदैन, यसले परिस्थितिअनुसार आफ्नो बाटो बनाउँछ,’ प्रचण्डले बताए।
उनले क्रान्तिको प्रकृति र प्रक्रियालाई समय सापेक्ष मूल्याङ्कन गर्नुपर्ने धारणा राख्दै भने, ‘नेपालमा नयाँ जनवादी क्रान्ति सोचेजस्तो भएन, तर हामीले निरंकुशता अन्त्य गरी वैकल्पिक व्यवस्था ल्यायौँ। अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनु र सुदृढ गर्नु हाम्रो कर्तव्य हो।’
उनले शान्ति प्रक्रियामा माओवादीले एक्लै काठमाडौं कब्जा गर्ने विकल्पभन्दा फरक बाटो रोजेको उल्लेख गर्दै त्यसबेलाको रणनीतिको बचाउसमेत गरे। संविधान निर्माणपछि यथास्थितिवाद र प्रतिगमनको संयुक्त चुनौती फेरि देखा परेको उल्लेख गर्दै, त्यसविरुद्ध विचार र संघर्षको तयारी आवश्यक भएको बताए।
प्रतिक्रिया