रौतहट- सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवाल माथि कुटपिट गरेको घटनामा संलग्न सहयोगी पक्राउ परेका छन्। तर, मेयर किशोरी साह कलवार र एकजना वडा सदस्य अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।
मेयरका सहयोगी सनफी यादवलाई प्रहरीले सिंहदरबार परिसरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, बारामा पठाएको छ।
सहयोगी यादव केही दिनअघि मेयर कलवारसंगै काठमाडौं गएका थिए। प्रशासकीय अधिकृत जयसवालले मेयर कलवार, वडा ४ का वडासदस्य दीपेन्द्र गुप्ता र सहयोगी सनफि यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
कानुन विपरीतको रकम भुक्तानी गर्न अस्वीकार गरेपछि मेयरले प्रशासकीय अधिकृत जयसवाललाई घरमै बोलाई कुटपिट गरेका थिए। घटनामा संलग्न वडासदस्य गुप्ता फरार भएका छन्।
बाराका एसपी सन्तोष तामाङले मेयर माथि उजुरी परेको तर अहिलेसम्म मुद्दाको प्रक्रियामा अगाडी नबढेको तथा घटनाबारे अनुसन्धान जारी रहेको बताए । उक्त घटनाले स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारीमाथि गर्ने दबाब, दम तथा अत्याचार गर्दा पनि स्थानीय प्रशासन मूकदर्शक बन्ने गरेको प्रत्यक्ष रूपमा उदाहरण बनेको छ।
कानुन विपरीत बिना शीर्षक भुक्तानी नगरेपछि मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई कुटपिट गरेको थियो।
घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन्।कर्मचारीहरूले नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पारेका छन्। नगरपालिका द्वारा प्रदान गरिने दैनिक काम लिएर जाने सेवाग्राहीहरू रित्तो हात फर्कन बाध्य भएका छन्।
यस वर्ष लागेको विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा अतिथि सेवा लगायत नगरको सरसफाइ शीर्षकमा कार्यपालिका बोर्डको बैठकले १० लाख रुपैयाँ छुटाएको थियो। तर मेला शीर्षकमा मेयर कलवारले २७ लाख रुपैयाँ भुक्तानी गर्न पटक पटक दबाब दिँदै आएका थिए।
त्यसैगरी बोर्डको बिना निर्णय वृक्षारोपण शीर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहासिक समारोह शीर्षकमा १० लाख र बाटो सरसफाइमा १९ लाख रुपैयाँ भुक्तानी गर्न मेयर कलवारले दबाब दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले बताएका छन्।
गत १६ गते बिहान १० बजेदेखि मेयर कलवार र सिम्रौनगढ समारोह को अगुवा महिला ममता शर्मा पटक पटक फोन गरेर सरसल्लाह गर्न भनेर मेयरको निवासमा बोलाएका थिए।
मेयरसँग छलफल गर्न उनको घरमा जाँदा ममता शर्माको १० लाख लगायत ७१ लाख रुपैयाँको भुक्तानी गर्न मेयर कलवारले पुनः दबाब दिएको थियो।
मेला शीर्षकमा मात्र १० लाख रुपैयाँ छुट्ट्याएको छ अरू कुनै शीर्षकको रकम छैन, बिना कानुनी प्रक्रिया पूरा गरी भुक्तानी कसरी दिने मैले जवाफ दिए पछि मेयर कलवार र उनका समर्थकले अन्धाधुन्ध कुटपिट गरेको अधिकृत जैसवालले बताएका छन्।
सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमु सेहरले मेयर किशोरी प्रसाद कलवारको नगरपालिका सञ्चालन गर्ने मनसाय नै नरहेको आरोप लगाएकी छिन्।
मेयर कलवारले भ्रष्टाचार गर्न नगरका कर्मचारीलाई आफ्नो घरायसी नोकरको जस्तो व्यवहार गर्ने गरेको बत्ताइन्।
नगर कार्यपालिका बोर्डमा रहेका २१ जना मध्ये २० जना आफूसँग भए पनि मेयर कलवार एक्लै आफ्नो निजी सम्पत्तिको जस्तो नगरको रकम लुट्न खोजेको उपमेयर सेहरले दाबी गरिन्।
प्रतिक्रिया