सिरहा– निजी अस्पताल र फार्मेसीहरूले सेवाग्राहीसँग अत्यधिक रकम लिई ब्रहमलुट मच्चाएको छ। जिल्लाको मिर्चैया स्थित मनकामना मिड इस्टर्न अस्पतालले सेवाग्राहीसँग पाँच रुपैयाँ पर्ने इन्जेक्सनको एकसय रुपैयाँ लिएको प्रमाण फेला परेको हो।
मिर्चैया नगरपालिका ७ कटारी चौकस्थितको मनकामना मिड इस्टर्न अस्पताल भित्र रहेको विकास मेडिकल हलमा खरिद गरिएको औषधिहरूमा अत्यधिक रकम लिने गरेको सेवाग्राहीहरू बत्ताउँछन् ।
यो घटना हो गत चैत २६ गतेको। सिरहाको कल्याणपुर नगरपालिका १ चतरी वनिनियाकी रचना कुमारी मण्डल मोटरसाइकल दुर्घटनामा परि २६ गते दिउँसो घाइते भएकी थिइन् । मिर्चैयाबाट घरजाने समयमा दुर्घटनामा परेकी उनको खुट्टामा बढी चोट लागेकोले हतार हतार मिर्चैयाको मनकामना अस्पताल पुगिइन। सबै सेवा सुविधा पाइन्छ भनेर नजिकैको अस्पतालमा पुगे पनि खुट्टाको हड्डी फ्याकचर भएकोले त्यहाँ उपचार सम्भव भएन। तत:पश्चात् उनी हाडजोर्नी डाक्टरसँग चेक गराउनुपर्ने निधो गरिन र अर्को अस्पताल गइन।
मनकामना मिड इस्टर्न अस्पतालबाट डिस्चार्ज हुने बेला औषधिको पैसा तिर्नुपर्ने भनेर फार्मेसी गयो। अस्पताल भित्र रहेको विकास मेडिकल हलले उनलाई ल्याब र इमर्जेन्सीको ४ हजार ७ सय र डाक्टर चार्ज एक हजार, अबजर्भेसन चार्ज एक हजार तथा औषधि सहितको ६ हजार तीन सय पैँतिस रुपैयाँ गरी जम्मा ११ हजारको बिल थमाइयो। उनी चार घण्टामै यतिको बिल कसरी भयो? भन्दा औषधि पसलले लौन पाँच सय डिस्काउन्ट गरिदिए दश हजार पाँच सय मात्र दिनु भन्यो। उनीहरूले औषधी पसलले भनेकै रकम तिरिदिए।
अस्पतालले चार घण्टाको अवधिमा मण्डललाई जम्मा १३ प्रकारको औषधी चलाएको बिलमा देखिन्छन् । विकास औषधी पसलले दिएको बिलमा आइभी सेट, फिक्स टेप, आइभी क्यानुला, आरएल सलाइन, जोन इन्जेक्सन , एसिलक इन्जेक्सन , केट्रोल इन्जेक्सन , डाइलोना इन्जेक्सन , टिटि इन्जेक्सन , एन एस ५ सय एमएल, सिरिन्ज १० एमएल, सिरिन्ज ५ एमएल र सर्जिकल ग्लोवस २ थान प्रयोग गरिएको देखिन्छ ।
उक्त औषधी पसलले औषधी लगायतका मेडिकल सामग्रीको ६ हजार भन्दा बढी लिएको छ। तर, सोही औषधी र मेडिकल सामाग्री हामीले मिर्चैया नगरपालिकाले सञ्चालनमा ल्याएको मिर्चैया अस्पतालको फार्मेसीमा गएर खरिद गर्दा जम्मा एक हजार एकसय चार रुपैयाँ तिर्नुपर्यो। अस्पतालको औषधि पसलेले सेवाग्राहीलाई दिएको बिल र मिर्चैया अस्पतालको बिलवीच मूल्यको तुलना गर्दा, अधिकांश औषधिमा दोब्बरदेखि दश गुणासम्म बढी रकम लिएको देखिन्छ ।
विकास औषधि पसलले दिएको बिलमा ५ रुपैयाँ पर्ने एसिलक इन्जेक्सनको एकसय , आइभी सेट सामुदायिक अस्पतालमा ५० मात्र पर्नेमा मेडिकलले १५० लिएको छ। आइभी क्यानुला को सामुदायिक अस्पतालमा ५०, निजी मेडिकलले २५०, इन्जेक्सन आरएलको सामुदायिक अस्पतालमा ५५, लिएको छ भन्ने उक्त फार्मेसीले २०० लिएको छ।
सामुदायिक अस्पतालमा क्रेप ब्यान्डेजको ५० देखि ६०, ग्लोबसको ८० लिएको छ। तर सोही ब्यान्डेजको विकास फार्मेसीले तिनवटाको ५ सय रुपैयाँ र २ वटा ग्लोबसको १ सय साट्ठि रुपैयाँ लिएको छ। उक्त फरक विवरणले पनि सामान्य उपचार सेवामा समेत अत्यधिक रकम असुली गरेको पुष्टि हुन्छ। पीडित सेवाग्राही रचना कुमारी मण्डलले प्राप्त बिल सार्वजनिक गरेपछि यो तथ्य बाहिर आएको हो।
यो औषधी पसलले सेवाग्राही त ठगेको छ नै सँगै राज्यको लाखौँ रकम राजस्व पनि छली गरेको प्रमाणहरू फेला परेको छ। उपचारमा आएकी मण्डल एउटा उदाहरणका पात्र मात्र हुन् । यो अस्पतालमा आउने जो कोही पनि ठगिएको प्रमाणहरू फेला परेको छ।
औषधीको प्यान बिलमा बिरामीको इमर्जेन्सी चार्ज, बेडचार्ज, नर्सिङ चार्ज र अबजर्भेसन चार्ज काट्नु नै गैर कानुनी हो। तर, विकास मेडिकल हलको सबै बिलमा यी चार्जहरू लिएर राज्यको राजस्व समेत दोहन गरेको देखिन्छ। यसले पनि यो अस्पतालले वाषिक लाखौँ रकम राज्यको राजस्व छली गर्दै आइरहेको पुष्टि हुन्छ।
स्वास्थ्य सेवा आम नागरिकको अधिकार भए पनि निजी अस्पतालहरूले मनलाग्दी मूल्य लिने गरेको स्थानीय रामकुमार यादव बत्ताउँछन् । उनले भने, ´हामी ऋणपान गरेर उपचार गराउँछौँ। बाहिर पाउने उपचार नजिकै पाइहाल्छ भनेर खुसी भएको हाम्रो समाज कहिले सम्म ठगिनुपर्ने हो सरकार? ऋण लिएर उपचार गराउँदा पनि ठगिनुपर्ने? यादवले प्रतिप्रश्न गरे।´
यतिमात्र होइन, अस्पतालभित्र सञ्चालनमा रहेको विकाश मेडिकल हल नै अवैध रूपमा सञ्चालन गरिरहेको खुलेको छ । यो फार्मेसी मिर्चैया नगरपालिका-६ मा दर्ता रहे पनि मिर्चैया-७ स्थित मनकामना अस्पतालभित्र अवैध रूपमा चलाइरहेको मिर्चैया नगरपालिकाले जनाएको छ । यस विषयमा अस्पतालका सञ्चालक सुधीर श्रेष्ठसँग प्रतिक्रिया लिन खोज्दा उनले भने, ‘बिरामीले आफूहरूसँग छुट माग्ने गरेकोले यसरी बढी रकम जोडेको स्वीकार गरे। ‘हामीसँग बिरामीले छुट माग्छन्, अनि हामीले यसरी जोड्छौँ,’ उनले भने, ‘अरू धेरै केही भन्दिनँ, जे मन लाग्छ लेख्नुस् । मलाई केही फरक पर्दैन ।’
यसरी दिनप्रतिदिन सेवाग्राहीहरू ठगिए पनि सम्बन्धित निकाय मौन भएर बस्नुले सन्देहपूर्ण संलग्नता रहेको स्थानीहरूको आरोप छ। उनीहरूकै संरक्षणका कारण पनि तराई मधेशका जिल्लाहरूमा विभिन्न बहानामा स्वास्थ्य क्षेत्रमा सेवाग्राहीहरू ठगिँदै आएको उनीहरूको भनाइ छ।
प्रतिक्रिया