+
Search

ताजा अपडेट +

पपुलर +

सुनसान वीरगन्ज

वीरगन्ज झडपमा ४३ जना घाइते, कर्फ्यु जारी राखेर सर्वदलीय बैठक बोलाइयो

पालिका लाइभ
२०८१ चैत्र ३१, आईतवार

पर्सा– वीरगन्जमा दुई पक्ष बिच झडप भएपछि लगाइएको कर्फ्युका कारण आइतबार बिहान वीरगन्ज सुनसान देखिएको छ ।

हनुमान जन्मोत्सवमा शनिवार निकालिएको शोभा यात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुवै पक्ष बिच झडपमा भएको थियो ।

दुई पक्ष बिच झडप भएपछि स्थानीय प्रशासनले शनिवार बेलुकी ६ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु लगाएको हो । अहिले पनि कर्फ्यु जारी छ भने सडक तथा चौकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्यु लगाएको क्षेत्रमा नेपाली सेना पनि परिचालन गरिएको पुष्टि गरेका छन् । उनका अनुसार स्थानीय प्रशासन ऐन ,२०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको हो । पूर्वमा भेडियाहि चौक , पश्चिममा सिर्सया पुल , उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेट सम्म कर्फ्यु आदेश जारी भएको उनले जानकारी दिए । वीरगन्जको अवस्था हेरेर कर्फ्युको समय थप गर्ने वा नगर्ने निर्णय लिइने उनले बताए ।

हिजो भएको झडपमा पर्साका प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) देवेन्द्र सिंहसहित २५ जना घाइते भएको बुझिएको छ । प्रदर्शनकारीतर्फ १५ जना घाइते भएको सिडिओ अर्यालले जानकारी दिए । घाइतेहरूको वीरगन्जस्थित नारायणी अस्पताल, गण्डक अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

यो सँगै कर्फ्यु पालना गराउने क्रममा प्रहरीले चलाएको गोली लागेर एक वृद्ध घाइते भएका छन् । वीरगन्ज–१६ का वृद्ध हरिन्द्र राउत अहिरको हातमा गोली लागेको छ । उनको उपचार नारायणी अस्पतालमा भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु अवधिभर सर्वसाधारणलाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ । तर, दमकल, खानेपानी आपूर्ति, बिरामी बोकेको एम्बुलेन्स, स्वास्थ्यकर्मी, फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, दूध बोकेको गाडी तथा पूर्व निर्धारित परीक्षामा सहभागी विद्यार्थीहरूलाई प्रवेश पत्र देखाएर आवतजावत गर्न छुट दिइएको छ ।

दुई समुदायबीच उत्पन्न परिस्थितिलाई लिएर प्रमुख जिल्ला अधिकारी आचार्यले सर्वदलीय बैठक डाकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ