+
Search

ताजा अपडेट +

पपुलर +

याकचौंरीको दुध भन्दा कालो चिया बेचेर राम्रो आम्दानी, छैन् सरकारी चासो

लाङटाङमा रहेको एसियाकै सबैभन्दा पूरानो चिज कारखाना बन्द हुने अवस्थामा

पालिका लाइभ
२०८१ फाल्गुन २०, मंगलवार

काठमाडौं– मुलुकको सबैभन्दा पुरानो रसुवाको लाङटाङ चिज उत्पादन केन्द्र धराशायी अवस्थामा पुगेको छ । विशेषगरी याकचौरीको दूधमार्फत चिज उत्पादन गर्दै आइरहेको केन्द्रमा दूध नै आउन छाडेपछि कारखाना बन्द गर्नुपर्ने अवस्थामा पुगेको हाे ।

एसियाकै सबैभन्दा पुरानो चिज उत्पादन केन्द्र मानिएको कारखाना १९५२ मा स्थापनामा भएको हो । स्विस नागरिक टोनी हेगेनको पहलमा रसुवाको क्यान्जेनमा उत्पादन केन्द्र खोलिएको थियो । एक दशक अघिसम्म सात सय लिटर दूधमार्फत चिज उत्पादन हुने गरेको भए पनि हाल १ सय ५० लिटर दूध पाउन पनि मुस्किल भएको केन्द्र प्रमुख ग्याल्बो लामाले बताए ।

cheej kendr

‘म २७ वर्षदेखि कारखाना कार्यरत छु । १४ वर्षदेखि केन्द्र प्रमुखका रूपमा काम गरिरहेको छु । कारखानामा दिनप्रतिदिन उत्पादन घट्दै गएको छ । पर्यटकको चाप बढेकाले चिजको माग पनि बढ्दो छ तर हामी कारखाना बन्द गर्नुपर्ने अवस्थामा पुगेका छौँ । लाङटाङको उत्पादनले नपुगेर काठमाडौँबाट चिज लगेर बेच्नुपर्ने अवस्थामा छौँ,’ उनले भने, ‘दूधको मूल्य नहुँदा र राज्यले किसानहरूलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन नसक्दा उत्पादन घट्दो अवस्थामा छ ।’

cheej kendra8

लाङटाङ पर्यटकको हब हो । याकचौरी पाल्ने किसानहरू पर्यटन व्यवसायतिर व्यस्त भएकाले चौँरी गोठहरू हटाउन थालेका छन् । भएका गोठहरूमा पनि सरकारको प्रोत्साहन नभएको स्थानीयवासीको भनाइ छ । चौँरी पालेर भन्दा पर्यटन व्यवसायमा मनग्ये आम्दानी हुने भएपछि किसान व्यावसायिक रूपमा दूध उत्पादन गर्न सक्रिय छैनन् ।

Gyalbu Taman 1

‘०७२ सालको विनाशकारी भूकम्पमा परी यहाँका करिब सात सय याकचौंरी मरे । २३ किसानले ज्यान गुमाउनुपर्‍यो । त्यसपछि व्यावसायिक रूपमा चौरी पालन हराउँदै गयो । मानिसहरूले व्यवसाय बदलेर पर्यटनतिर आकर्षित भए । बालबच्चा बढाउन भनी स्थानीयवासी सहर तिर बसाई सर्न थालेपछि थप समस्या आउन थालेको छ,’तामाङले भने,‘यही अवस्था हो भने चिज कारखाना बन्द गर्नुपर्ने अवस्था आइसक्यो ।’

दुग्ध विकास संस्थानले चौरीको चिजको मूल्य १८ सय ८० रुपैयाँ तोकेको छ । दूधको मूल्य प्रति लिटर करिब एक सय रुपैयाँ मात्र छ । ‘लाङटाङमा कालो चियाको मूल्य नै १ सय २० रुपैयाँ छ । दूध प्रति लिटर एक सय रुपैयाँ पनि नहुनु दुर्भाग्यपूर्ण छ । किसानहरू दूध बेच्नुभन्दा कालो चिया बेचेर मनग्गे आम्दानी गरिरहेका छन्,’ तामाङले भने,‘पटक पटक माग गर्दा पनि सरकारले किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम नै ल्याउन सकेन । चासो नै दिएन । बीमा र अनुदानका कार्यक्रमहरू ल्याउनै सकेन ।’

cheej kendr

प्रमुख तामाङका अनुसार कुनै समय पाँच जना किसानले तीन सय लिटरसम्म दूध ल्याउने गरेको भए पनि अहिले पूरै घटेको छ । यसपालि पनि दुई वटा चौरी गोठ विक्री भइसकेकाले उत्पादन थप घट्ने उनले जानकारी दिए ।

‘चिजको माग पुरा गर्न हामीले लाङटाङ, गत्लाङ, तातोपानी, चन्दनबारी, धुन्चेतिरबाट चिज संकलन गरिरहेका छौँ । पर्यटकहरूको माग पुरा गर्न काठमाडौँबाट चिज लाङटाङ ल्याइरहेका छौँ । लाङटाङमा एक सय १६ घरधुरी रहे पनि हाल तीन वटा गोठमा ६०–७० वटा मात्र याकचौरी छन्,’ उनले भने । उनले लाङटाङ क्षेत्रमा हाल हिउँ कम पर्न थालेकाले जलवायु परिवर्तनको असर देखिन थालेको पनि बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ