+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय वाणिज्य बैंकलाई अग्रणी बनाउन अर्थमन्त्रीको जोड

पालिका लाइभ
२०८१ मंसिर १६, आईतवार

रुपन्देही– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई देशकै एक नम्बरको बैंक बनाउने गरी काम गर्नुपर्ने आवश्यकता भएको बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बदलिँदो समयअनुसार बैंकलाई अग्रणी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले सरकारको पूर्ण स्वामित्वमा रहेको बैंकले समयसापेक्ष सेवा र सुविधाहरू प्रवाह गर्दै प्रत्येक सेवाग्राहीले अपनत्व महसुस गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बैंकको ब्याजदर स्थिर बनाउनुपर्ने आवश्यकता भएको जनाएका छन् । उनले एकल अंकको ब्याजदर भए पनि समयसँगै बढ्ने प्रवृत्तिले व्यावसायिक क्षेत्रलाई असहज बनाएको अनुभव सुनाउँदै, ब्याजदरको सुनिश्चितताले व्यावसायिक लगानी गर्न सजिलो हुने तर्क गरे ।

बुटवल उपमहानगरपालिकाको वडा नं. ४ का वडाध्यक्ष नरेश्वर पौडेलले राष्ट्रिय वाणिज्य बैंकले आर्थिक चुनौती पार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै स्थानीय सरकारबाट आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले बैंकको सेवा सुधारप्रति खुसी व्यक्त गर्दै सरकार र निजी क्षेत्रबिचको खाडल घटाउन बैंकले अग्रणी भूमिका खेल्नुपर्ने धारणा राखेका छन् ।

बैंकका अध्यक्ष दिलीपकुमार ढुंगानाले कृषि, ऊर्जा, व्यापार, शिक्षा, स्वास्थ्य, उद्यम, र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाएको बताउँदै, सूचना प्रविधिसँग सेवा प्रवाहलाई जोड्ने योजना प्रस्तुत गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैंकले उत्पादन, कृषि, पर्यटन, ऊर्जा, साना उद्यम र पूर्वाधार क्षेत्रमा लगानी बढाएको जानकारी गराउँदै, वित्तीय साक्षरतालाई प्रवर्द्धन गर्न समुदायसँग सुमधुर सम्बन्ध राख्ने प्रयास भइरहेको उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ