+
Search

ताजा अपडेट +

पपुलर +

उद्योग वाणिज्य महासंघको अध्यक्ष स्वतः हुने प्रावधान संशोधन, अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने

पालिका लाइभ
२०८१ असार २५, मंगलवार

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था गरिएको छ । यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो ।

उक्त प्रावधानमा भएको विधानलाई महासंघको कार्य समितिले सोमबार सर्वसम्मत संशोधन गरेको हो । यससँगै पुनः महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । कार्यसमितिले संशोधन गरेको विधानलाई आगामी मंसिरमा हुने साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।

यसअघि भवानी राणा वरिष्ठ उपाध्यक्ष हुँदा विधान संशोधन गर्दै स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । त्यसअघि अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट आउने व्यवस्था थियो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विधान कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन हुने जानकारी दिए । यो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रूपमा अध्यक्ष लड्न सहयोग पुग्ने ढकालले बताए । आफू वरिष्ठ उपाध्यक्ष उठ्दा उनले चुनावी नारामा यही विषयलाई प्रमुखताका साथ उठाएका थिए ।

अध्यक्ष ढकालका अनुसार सोमबार संशोधित प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछि अर्काे कार्यकालबाट लागू हुने छ । अहिले वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ छन् ।

संशोधित विधानमा एकबाट वरिष्ठ उपाध्यक्ष दुई जना रहने व्यवस्था गरिएको छ । त्यस्तै हाल तीन रहेको उपाध्यक्षमा थप गरेर एक महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ