काठमाडौं– नेपाल उद्योग परिसंघले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँग जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरेको छ ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रधानमन्त्रीको हालै भएको भारत भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पीपीए पूर्णरुपमा खुला गरी निर्माणको वातावरण बनाउनु पर्नेमा जोड दिए ।
नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्न, प्रसारणलाइन निर्माण तथा विद्युत व्यापारमा निजी क्षेत्रको संलग्नता गराउन उनले आग्रह गरे ।
विद्युत निर्यात हुँदै गर्दा स्वदेशमै रहेका उद्योगहरुले सहज रुपमा विद्युत नपाइरहेको र यसले उद्योगहरुको उत्पादन लागत बढाउन सहयोग गरेको उनले बताए ।
मन्त्री बस्नेतले समग्र ऊर्जाको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए ।
उनले हालकै लागतमा १० हजार मेगावाट उत्पादन गर्न २० खर्ब बराबर लगानी आवश्यक पर्ने र त्यसले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने बताए ।
उनले समग्र उर्जा क्षेत्रको विकासका लागि ‘उर्जा दशक’ घोषणा गरी अगाडि बढ्न गृहकार्य गरिरहेको समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
प्रतिक्रिया