+
Search

ताजा अपडेट +

पपुलर +

२५ दिनमा पौने २ खर्ब बजेट खर्च, सरकारको बजेट घाटा ३ खर्ब ४० अर्ब पुग्यो

२५ दिनमा पौने २ खर्ब बजेट खर्च, सरकारको बजेट घाटा ३ खर्ब ४० अर्ब पुग्यो
पालिका लाइभ
२०८१ असार २५, मंगलवार

काठमाडौं- चालु आवको असार २४ गतेसम्म आउँदा बजेट घाटा तीन खर्ब ४० अर्ब ३९ करोड ५० लाख रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रणको कार्यालयले उपलब्ध गराएको असार २४ गतेसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

असार २४ गतेसम्म सरकारको कुल आम्दानी १० खर्ब १५ अर्ब ८२ करोड २ लाख रुपैयाँ पुगेको छ । त्यसमा कर राजश्व आम्दानी मात्रै ८ खर्ब ८८ अर्ब ५३ करोड २९ लाख रुपैयाँ रहेको छ । यसैगरि गैरकर राजश्व आम्दानी १ खर्ब १ अर्ब ४३ करोड २६ हजार रुपैयाँ, अनुदान २ अर्ब ७५ करोड ८० लाख र अन्य आम्दानी २३ अर्ब ९ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

तर, खर्च भने १३ खर्ब ५६ अर्ब २१ करोड ५२ लाख रुपैयाँ रहेको छ । यसरी सरकारको आम्दानी भन्दा खर्च ३ खर्ब ४० अर्ब रुपैयाँ बढी देखिएको छ । जसलाई बजेट घाटा भनिन्छ । यस्तो घाटालाई ऋण मार्फत सरकारले पूर्ति गर्दै आएको छ । सरकारले हरेक वर्ष घाटाकै बजेट ल्याउने गरेको छ । त्यो घाटालाई ऋणले नै पूर्ति गरिन्छ । सरकारले चालु आवमा परिचालन गरेको ऋण भने यसमा समावेश छैन । ऋण मार्फत पनि सरकारको खर्च धान्न नसक्ने अवस्था आएमा सरकारको सञ्चितिबाट खर्च गर्नुपर्छ । त्यस्तो अवस्थालाई सञ्चित नोक्सानी भनिन्छ ।

सरकारले चालु आवका लागि नियमित भुक्तानी गर्न पाउने दिन सोमबार अन्तिम दिन थियो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० अनुसार आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने हुन्छ । त्योअनुसार असार २५ गते अर्थात् मंगलबार देखि सरकारको नियमित भुक्तानी रोकिन्छ । अत्यावश्यक परेको अवस्थामा मलेनिकाको सहमति लिएर भुक्तानी गर्न सकिन्छ ।

सरकारले यसरी भुक्तानी गर्न पाउने अन्तिम दिनसम्म लक्ष्यको ७७.४४ प्रतिशत बजेट खर्च गरेको छ । सोमबारसम्म भएको १३ खर्ब ५६ अर्ब रुपैयाँ भएको खर्च लक्ष्यको ७७.४४ प्रतिशत हो । सरकारले चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । सरकारले सोमबार मात्रै एकै दिन ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ खर्च गरेको छ, जुन चालु आवको दैनिक खर्चमा हालसम्मकै उच्च हो । अन्तिम समयमा आएर बजेट खर्च गर्नुपर्ने दबाबमा सरकारले धेरै खर्च गरेको देखिन्छ ।

सोमबारसम्म आउँदा सरकारको पुँजीगत खर्च भने लज्जास्पद नै देखिएको छ । चालु आवमा सरकारले पुँजीगत खर्चका लागि ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ मात्रै छुट्टाएको थियो । त्यसमा पनि यसको खर्च भने एकदम चिन्ताजनक देखिएको छ । असार २४ गतेसम्म आउँदा पुँजीगत तर्फ १ खर्ब ७२ अर्ब ९ करोड २२ लाख रुपैयाँ मात्रै खर्च गरेको छ, जुन लक्ष्यको ५६.९७ प्रतिशत मात्रै हो । सोमबार मार्फत पुँजीगत तर्फ १४ अर्ब ४० करोड १३ लाख रुपैयाँ खर्च भएको छ । असार मसान्तसको दबाबमा सरकारले एकै दिन ठुलो पुँजीगत खर्च गरेको देखिन्छ । सरकारले मंगलबार पनि ठुलो आकारमा पुँजीगत खर्च गर्न लागेको स्रोतको भनाइ छ ।

पहिला पुँजीगत खर्च कम थियो । असार मसान्तको दबाबमा त्यस्तो खर्च बढेको छ । तर पनि त्यस्तो खर्च लक्ष्यको तुलनामा कम नै छ । सुरुमै सही ढंगले बजेट विनियोजन नहुँदा यस्तो अवस्था आएको अर्थ मन्त्रालयका एक अधिकारीहरू बताउँछन् । कतिपय परियोजनामा बजेट छ । तर, त्यसमा काम भएको छैन । कतिपय परियोजनामा काम भइरहेको छ । तर, त्यो परियोजनामा बजेट पर्याप्त छैन ।

आवश्यकता र वास्तविक अवस्थालाई बेवास्ता गरेर जथाभाबी बजेट विनियोजन हुँदा यस्तो अवस्था आएको उनीहरू बताउँछन् । यो अवस्थामा एउटा परियोजनाबाट अर्को परियोजनामा बजेट रकमान्तर गर्ने विकल्प छ । तर, त्योअनुसार अर्थ मन्त्रालयले समयमै बजेट रकमान्तर गरिदिएको छैन । त्यसले गर्दा पुँजीगत खर्च कमजोर भएको उनीहरू बताउँछन् ।

असार २४ गतेसम्म सरकारको चालु खर्च भने ८१.७९ प्रतिशत पुगी सकेको छ । सरकारले यो वर्ष चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमा हालसम्म ९ खर्ब ३३ अर्ब ८५ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । सोमबार मात्रै ९ अर्ब ८५ करोड २३ लाख रुपैयाँ चालु खर्च भएको छ ।

वित्तीय व्यवस्था तर्फ भने सरकारले ८१.४ प्रतिशत बजेट खर्च गरिसकेको छ । चालु आवमा यसका लागि सरकारले ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बजेट छुट्टाएको थियो । त्यसमा हालसम्म २ खर्ब ५० अर्ब २६ करोड ७६ लाख रुपैयाँ खर्च भएको छ । त्यसमा सोमबार मात्रै ९ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ वित्तीय व्यवस्था खर्च भएको छ ।

आर्थिक वर्ष अर्थात् असार मसान्त सकिएपछि चालु आवमा खर्च गर्न नसकेको बजेट फ्रिज हुन्छ । साउन १ गतेबाट नयाँ आर्थिक वर्ष सुरु हुन्छ र नयाँ बजेटअनुसार नै सरकारको काम कारबाही अघि बढ्छ । त्योअनुसार असार भित्र तोकिएको कार्यक्रम तथा शीर्षकमा बजेट खर्च हुनु अपरिहार्य हुन्छ । त्यसमा १२ महिना नै सन्तुलित रूपमा बजेट खर्च गर्न सकेमा एकदमै राम्रो मानिन्छ । तर, सरकारले त्यसरी खर्च गर्न नसकेको सरकारकै तथ्यांक पुष्टि गरेको छ । अहिले असारको अन्तिम समयमा आएर उच्च मात्रामा खर्च गरेको मनेलिकाको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।