काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन २०८२ मा संशोधन गरेको छ ।
क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा विभिन्न संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै नयाँ परिपत्र जारी गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी बैंक तथा वित्तीय संस्था नियमन विभागले उक्त परिपत्रमार्फत निर्देशन जारी गरेको हो । नयाँ परिपत्र अनुसार वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८३/८४ का लागि कायम गर्नुपर्ने काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत निर्धारण गरिएको छ ।
यसअघि आर्थिक वर्ष २०८२/८३ का लागि समेत यस्तो बफर शून्य प्रतिशत नै राखिएको थियो । बैंक तथा वित्तीय संस्थाहरूले गर्ने लगानीलाई थप पारदर्शी, मर्यादित र जोखिममुक्त बनाउन लगानी नीति तथा कार्यविधिमा व्यापक परिमार्जन गरिएको छ ।
अब बैंक तथा वित्तीय संस्थाहरूले सरकारी सुरक्षण पत्र, राष्ट्र बैंक ऋणपत्र तथा सङ्गठित संस्थाहरूको शेयर र डिबेञ्चरलगायतका उपकरणहरूमा लगानी गर्नुअघि स्पेकुलेटिभ रिस्क न्यूनीकरण हुने गरी स्पष्ट नीति तथा कार्यविधि सञ्चालक समितिबाट स्वीकृत गराएर मात्र लागू गर्नुपर्नेछ ।
लगानी सम्बन्धी नयाँ नीतिमा सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेका सङ्गठित संस्थाको शेयर तथा डिबेञ्चरमा कम्तीमा ४५ दिनभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाइने व्यवस्था गरिएको छ । यसअघि ६ महिनाभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाइने व्यवस्था रहेको थियो । तर कुनै पनि किसिमको अन्य प्रबन्धबाट सङ्गठित संस्थाको शेयर तथा डिबेञ्चरमा अल्पकालीन लगानी गर्न नपाइने नियमलाई निरन्तरता दिइएको छ ।
नयाँ कार्यविधिमा बैंकहरुले आफ्नो स्वामित्वमा रहेका सहायक कम्पनी, स्वामित्व रहेका शेयरधनी र जोखिम लिने अधिकारीसँग स्वार्थको द्वन्द्व हुन नदिने व्यवस्था गर्नुपर्नेछ ।
लगानी उपकरणहरूलाई बैंकिङ बुक र ट्रेडिङ बुकमा वर्गीकरण गर्ने, न्यूनतम र अपेक्षित होल्डिङ अवधि तोक्ने छ । जोखिम व्यवस्थापनका लागि स्टप लास तथा टेक प्रोफिट जस्ता सीमाहरू निर्धारण गर्नुपर्ने व्यवस्था समेत थप गरिएको छ ।
वित्तीय पारदर्शिता बढाउनका लागि नेपाल राष्ट्र बैंकले बैंकिङ बुक र ट्रेडिङ बुकको छुट्टाछुट्टै मासिक लगानी विवरण पेश गर्नुपर्ने गरी नयाँ ढाँचाहरू थप गरेको छ ।











