काठमाडौं– सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राही खोज्दै गोरखाको अजिरकोट गाउँपालिका काठमाडौंसम्मै पुगेको छ।
गाउँपालिकाका जनप्रतिनिधि र तीन जना कर्मचारीसहितको घुम्ती टोलीले काठमाडौंको नयाँ बजारस्थित ‘सगुन क्याफे’मा नवीकरण शिविर सञ्चालन गरी २०७ जना लाभग्राहीको सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गरेको हो।
टोलीले यसअघि पोखरामा २८ र चितवनमा १३४ जनाको कार्ड नवीकरण गरिसकेको थियो। तीन सहरमा गरी ३६९ जनाको भत्ता कार्ड नवीकरण भएको गाउँपालिकाले जनाएको छ। भदौ २२ गते पोखरा, २४ र २५ गते चितवन तथा २७ र २८ गते काठमाडौं पुगेर भत्ता नवीकरण गरिएको हो।
गाउँबाट सहर झर्ने क्रम बढेपछि गाउँपालिकाले सेवा दिने तरिका नै बदलेको छ। अध्ययन, रोजगारी र उपचारको सिलसिलामा पोखरा, चितवन र काठमाडौंमा बसोबास गर्ने आफ्ना लाभग्राहीलाई भत्ता नवीकरणकै लागि गाउँसम्म धाउनु नपरोस् भनेर जनप्रतिनिधि र कर्मचारीको टोली सहरमै पुगेको गाउँपालिकाको भनाइ छ।
गाउँपालिकाका अनुसार अजिरकोटका अधिकांश वृद्धवृद्धा छोराछोरीको साहारा खोज्दै वा औषधि उपचारका लागि पोखरा, चितवन र काठमाडौंमा बसोबास गर्न गएका छन्। नवीकरणका क्रममा अस्पतालमा उपचाररत र घरबाट निस्कन नसक्ने अवस्थाका केही सेवाग्राही भेटिएपछि टोली घर र अस्पतालमै पुगेर पनि कार्ड नवीकरण गरेको थियो।
‘पायक पर्ने ठाउँ मिलाएर सेवा दिने व्यवस्थापन गरेका थियौँ,’ अजिरकोट–३ का वडाध्यक्ष बाबुराम अधिकारीले भने, ‘तोकेको ठाउँमा सेवाग्राही आएर नवीकरण गर्नुभयो। केही वृद्धवृद्धा अस्पतालमा हुनुहुँदो रहेछ, कोही घरबाट निस्कन नसक्ने अवस्थामा देखियो, एकाध सेवाग्राहीको त घर र अस्पतालमै पुगेर पनि कार्ड नवीकरणको काम गर्यौँ।’
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई कष्टकर यात्रा र अतिरिक्त खर्चबाट जोगाउन सम्बन्धित सहरमै सेवा दिने व्यवस्था गरिएको उनको भनाइ छ। कतिपय वृद्धवृद्धा ह्वीलचियरसहित गाउँसम्म आउनुपर्ने अवस्था रहेकाले पनि सहरमै सेवा दिनुपरेको उनले बताए।
‘भत्ता नवीकरणकै लागि वृद्धवृद्धा र अशक्त नागरिक कष्टकर यात्रा गरी गाउँसम्म आउन नपरोस् भनेर सम्बन्धित ठाउँमै पुगेर सेवा दिएका हौँ,’ वडाध्यक्ष अधिकारीले भने, ‘कतिपय वृद्धवृद्धालाई बोकेर ल्याउनुपर्ने अवस्था रहन्छ। गाउँबाट सहर झरेपछि यहाँसम्म आइपुग्ने साहारा पाउन पनि गाह्रो छ, खर्च पनि बढी नै हुन्छ। सहरमै पुगेर सेवा दिँदा उहाँहरूलाई निकै सजिलो हुँदो रहेछ।’
पालिकाले सहरमै पुगेर घुम्ती शिविर सञ्चालन गरेको यो दोस्रो वर्ष हो। ‘गत वर्ष चितवन र काठमाडौँमा शिविर गरेका थियौँ। यो वर्ष पोखरामा पनि शिविर राख्नुपर्ने माग आएपछि त्यहाँ पनि गर्यौँ,’ वडाध्यक्ष अधिकारीले भने, ‘गाउँपालिको पञ्जीकरण शाखाका तीनजना जना कर्मचारी र जनप्रतिनिधिसहितको टोली सहरमा गई शिविर सञ्चालन गरेका हौँ।’
गाउँपालिकाका अनुसार शिविरमा वडा नं १ का वडाध्यक्ष मनोज गुरुङ, वडा नं २ का वडाध्यक्ष कृष्णबहादुर गुरुङ र वडा नं ३ का वडाध्यक्ष अधिकारी तथा पञ्जिकरण तथा सामाजिक सुरक्षा शाखाका एम.आई.एस अपरेटर गणेश कोइरालासहितको टोली खटिएको थियो।
पालिकाले अघिल्ला वर्ष पनि पालिका पुग्न नसक्ने सेवाग्राहीका लागि यी सहरमा टोली पठाउने गरेको थियो।
सहर केन्द्रित बसोबास थालेका सेवाग्राहीलाई लक्षित गरी गोरखाका अन्य पालिकाले पनि सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण शिविर सम्बन्धित सहरमै सञ्चालन गर्दै आएका छन्। केही समयअघि उत्तरी गोरखाको बारपाक-सुलिकाेट, चुमनुब्री र धार्चे गाउँपालिकाले काठमाडौं र गोरखा बजारमा यस्तै शिविर चलाएका थिए।
‘सिंहदरबारको अधिकार गाउँ–गाउँमा’ भन्ने नाराका बीच गाउँपालिकाले भने उल्टो बाटो हिँडेको छ । सेवाग्राही कार्यालयसम्म नआउने भएपछि कार्यालय नै सेवाग्राहीको डेरासम्म पुगेको छ। सेवाग्राहीको सहजताका लागि गरिएको यो अभ्यासलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।

प्रतिक्रिया