काठमाडौं- सरकारले सुत्केरी बिदाको अवधि बढाएर ६ महिना पुर्याउने तयारी गरेको छ।
हाल आमाले पाउँदै आएको ९० दिनको बिदालाई बढाएर ६ महिना र बाबुले पाउँदै आएको १५ दिनको सुत्केरी स्याहार बिदालाई बढाएर ४२ दिन पुर्याउन लागिएको हो।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमका अनुसार ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ संशोधन विधेयकको मस्यौदा तयार भइसकेको छ। मस्यौदालाई मन्त्रिपरिषद् हुँदै संसद्मा दर्ता गराउने तयारी मन्त्रालयले गरेको छ।
प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म पूर्ण तलबसहितको बिदा प्रस्ताव गरिएको छ। मन्त्री गौतमले यसलाई सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा एउटा महत्त्वपूर्ण नीतिगत परिवर्तन भनेकी छन्।
‘आजको व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेका छन्,’ मन्त्री गौतमले भनिन्, ‘जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी पनि हो।’
बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउनु आमाको मात्र नभएर दम्पतीकै साझा जिम्मेवारी भएकाले यस्तो कानुनी व्यवस्था प्रस्ताव गरिएको मन्त्री गौतमले स्पष्ट पारेकी छन्।
प्रतिक्रिया