+
Search

ताजा अपडेट +

पपुलर +

फागुन २१ को निर्वाचन अहिलेकै सरकारले गराउँछ, संसद् पुनर्स्थापना हुँदैन : प्रचण्ड

फाइल तस्बिर
पालिका लाइभ
२०८२ पुष १९, शनिबार

काठमाडाैं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश पूर्ण रूपमा निर्वाचनतर्फ केन्द्रित भइसकेको बताएका छन्।

प्रेस सेन्टरले शनिबार सङ्खुवासभाको खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले अहिलेकै सरकारले तोकिएको मिति फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने दाबी गरेका हुन्।

राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेकाले अब चुनाव हुनेमा कुनै शङ्का नगर्न उनले आग्रह गरे।

प्रचण्डले अहिलेको अवस्थामा सर्वदलीय सरकार बन्ने वा सरकार पुनर्गठन हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे।

निर्वाचनको प्रक्रिया अगाडि बढिसकेकाले अब संसद् पुनर्स्थापना नहुने उनको जिकिर छ। नयाँ युवा पुस्ता (जेनजी) निर्वाचनकै पक्षमा रहेको उल्लेख गर्दै उनले अहिलेका राजनीतिक दलहरू नयाँ जनादेशमा जानुको विकल्प नभएको बताए।

उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नै दलहरूले अबको बाटो तय गर्नुपर्नेमा जोड दिए।

संविधान संशोधनका बारेमा बोल्दै प्रचण्डले निर्वाचनपछि प्राप्त हुने नयाँ जनादेशका आधारमा मात्र यो प्रक्रिया अघि बढ्ने बताए।

संविधान निर्माणका बेला १० वर्षपछि समीक्षा गर्ने वाचा गरिएको स्मरण गर्दै उनले सकारात्मक र नकारात्मक पक्षका आधारमा संविधान परिमार्जन गरिने उल्लेख गरे।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ