काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित पार्टीका तीन जना पदाधिकारीहरूले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेका छन्।
कांग्रेस नेतृत्वमा रहेका यी युवापंक्तिका नेताहरूको निर्णयले पार्टीभित्रको आगामी राजनीतिक समीकरण र नेतृत्व बहसलाई थप चर्काउने संकेत देखिएको छ।
कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगन र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डेले प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका हुन्। महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले यसअघि नै सार्वजनिक रूपमा चुनाव नलड्ने स्पष्ट पारिसकेका छन् भने महामन्त्री थापाले पार्टीको आन्तरिक बैठकमार्फत आफ्नो अडान राखेका छन्।
बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन अनिवार्य रहेको धारणा राख्दै नेतृत्व नफेरिए चुनावी प्रतिस्पर्धामा नजाने बताएका थिए। बैठकमा उनले नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने आफू उम्मेदवार नबन्ने बताएका छन्। पार्टीमा नेतृत्व परिवर्तन भए मात्र उनी चुनावी मैदानमा उत्रिने छन्। तर तत्काल नेतृत्व परिवर्तनको सम्भावना कमजोर देखिएकाले उनको उम्मेदवारी अनिश्चित बनेको छ।
यता अर्का महामन्त्री शर्माले भने नेतृत्व परिवर्तन भए पनि आगामी निर्वाचन नलड्ने घोषणा गरिसकेका छन्। कार्यसम्पादन समिति बैठकमा उनले आफू लगातार तीन पटकसम्म उम्मेदवार बनेकाले अब राजनीतिक संस्कार बदल्न आफू पछि हट्ने निर्णय गरेको जानकारी गराएका थिए। पटक–पटक एउटै व्यक्तिले उम्मेदवारी दिँदै जाने प्रवृत्तिले राजनीतिमा अस्वस्थ अभ्यास मौलाएको भन्दै उनले नयाँ पुस्तालाई अघि बढ्न दिने समय आएको बताएका छन्।
शर्माले राजनीति सधैँ पद र उम्मेदवारीमा सीमित हुन नहुने उल्लेख गर्दै ‘जित्दा त ठिकै हो, हार्दा पनि क्षेत्र नछाड्ने, एउटै क्षेत्रमा हार्दा अर्को क्षेत्रमा सर्ने, एक तहमा नजिते अर्को तहमा भए पनि उम्मेदवार बन्नैपर्ने र जीवनभर क्षेत्र कब्जा गरेर मन्त्री भइरहने सोच अब तोडिनुपर्छ’ भन्ने धारणा राखेका थिए।
प्रतिक्रिया