+
Search

ताजा अपडेट +

पपुलर +

झलनाथ पत्नी रविलक्ष्मीले भनिन्- जेनजीको मखुन्डो ओढेर देश नष्ट गर्नेमाथि कारबाही गरियोस्

पालिका लाइभ
२०८२ पुष ८, मंगलवार

काठमाडौं– ‘जेनजी’ आन्दोलनका नाममा निवासमा आगजनी गरिँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीमाथि कडा कारबाहीको माग गरेकी छन् ।

लामो उपचारपछि स्वास्थ्यलाभ गर्दै स्वदेश फर्किएकी चित्रकारले उक्त घटनालाई हिटलरको ‘ग्यास च्याम्बर’सँग तुलना गरिन् । जेनजीको अबोध मखुन्डो लगाएर देश विध्वंस गर्नेहरूलाई सरकारले छिटै पहिचान गरी सजाय दिनुपर्ने उनले बताइन् ।

सोमबार (पुस ७) बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले जेनजीको अबोधपनको मखुन्डो ओढेर देशलाई नष्ट गरिएको टिप्पणी गरिन् । ‘मैले किताबमा पढेको थिएँ, हिटलरको ग्यास च्याम्बर । त्यो ग्यास च्याम्बर म आफैँ परेँ र आज यो गति भयो,’ उनले भनिन्, ‘जेनजी भाइबहिनीहरूको अबोधपनको मखुन्डो ओढेर जुन देशलाई नष्ट पार्न खोजे, उनीहरूलाई यो सरकारले छिटै चिनेर कारबाही गर्नुपर्छ । मेरो यही माग छ ।’

पूर्वप्रधानमन्त्री खनालले पनि पीडा व्यक्त गर्दै उपचार प्रक्रिया अझै पूरा नभएको बताए । उपचारको प्रक्रिया अझ अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे । घरसहित सबै जलाएर नष्ट गरिदिएपछि उपचारमा समस्या हुने उनले सुनाए । ‘हामीले अझ धेरै गर्न बाँकी नै छ । त्यो पनि उपचारकै प्रक्रिया हो । त्यो उपचारको प्रक्रियालाई अझै अगाडि बढाउनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘तर, अब हामीजस्तो मान्छे जसको जिलीगाँठी सबे जलाएर खरानी बनाइदिएको छ, कसरी उपचार गर्छौं होला ? यो प्रश्न हामीसँग अहिले पनि बाँकी नै छ ।’

गएको भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी गरिएको थियो । उक्त घटनामा रविलक्ष्मी गम्भीर घाइते भएकी थिइन् । घर पूर्ण रूपमा क्षति भएको थियो । उपचारका निम्ति भारत लगिएकी उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधारोन्मुख रहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ