बिर्तामोड– सामाजिक सञ्जालमा गरिएको टिप्पणीलाई लिएर बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद सङग्रौलामाथि वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीले हातपातको प्रयास गरेका छन्।
विवादले उग्र रूप लिँदै जाँदा एमाले नगर कमिटीले विज्ञप्ति जारी गर्दै घटना प्रति आपत्ति जनाउँदै संयमता अपनाउन आग्रह गरेको छ।
बुधवार दिउँसो नगर उपप्रमुखको कार्यकक्षमा मेलमिलापकर्ताहरूको वार्षिक समीक्षा बैठक चलिरहेका बेला वडाध्यक्ष कार्कीको नेतृत्वमा २५–३० जनाको समूह प्रवेश गरी उपप्रमुख सङग्रौलामाथि गालीगलौज, अभद्र व्यवहार र हातपातको प्रयास गरेका थिए।
घटनाको मूल जड सामाजिक सञ्जाल ‘फेसबुक’ मा उपप्रमुख सङग्रौलाले वडाध्यक्ष कार्कीबारे गरेको टिप्पणी थियो। उक्त टिप्पणीप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्ष कार्की आक्रोशित बनेका थिए।
एमाले नगर कमिटीले सार्वजनिक रूपमा जारी विज्ञप्तिमा घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै दुवै पक्षलाई कानुनी बाटो खुला रहेको बताएको छ।
साथै, कार्यपालिकाको मेलमिलापको पहलस्वरूप बसेको बैठकमा वडाध्यक्ष कार्की अनुपस्थित रहेको भन्दै व्यक्तिगत मतभेदलाई संवाद र मेलमिलापमार्फत समाधान गर्न आग्रह गरिएको छ।
एमालेले फेसबुकलगायत सामाजिक सञ्जालमा व्यक्तिगत लाञ्छना र नकारात्मक टिप्पणीले पार्टी र जनप्रतिनिधिको गरिमा गिराउने भन्दै त्यसप्रति सचेत रहन नेता कार्यकर्तालाई आह्वान गरेको छ।
साथै, आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा आग्रह गरिएको छ।

प्रतिक्रिया