+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा फेरि लोडसेडिङ सुरू:

चितवनमा आजदेखि घोषित रूपमै ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

पालिका लाइभ
२०८२ श्रावण ११, आईतवार

काठमाडौं- आजदेखि चितवनका केही क्षेत्रमा दिनको दुईपटक गरेर ६ घण्टासम्म लोडसेडिङ सुरु भएको छ।

नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले लोड व्यवस्थापनका लागि लोडसेडिङको तालिका सार्वजनिक गरेको हो।

अत्यधिक गर्मी र रोपाईंको मौसममा पर्याप्त वर्षा नभएकाले सिँचाइ प्रयोजनका लागि विद्युत् माग बढेको प्राधिकरणले जनाएको छ। सोही कारण चनौली वितरण केन्द्रअन्तर्गतका नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरमार्फत आपूर्ति हुने क्षेत्रमा लोडसेडिङ गर्नुपरेको हो।

प्राधिकरणका अनुसार भरतपुरस्थित १३२/३३ केभी सबस्टेशनबाट सञ्चालनमा रहेको ३३ केभी डग कन्डक्टर तारले ३०० एम्पिएरसम्म मात्रै विद्युत् प्रवाह गर्न सक्छ। तर, माग अत्यधिक बढ्दा सोही लाइनमा ४५० एम्पिएर विद्युत् प्रवाह भएपछि लाइनमा क्षमताभन्दा बढी लोड पर्न थालेको छ।

यो समस्या समाधानका लागि अघिल्लो आर्थिक वर्षमै बसेनी सबस्टेशनमार्फत आपूर्ति गर्न नयाँ ३३ केभी प्रसारण लाइन निर्माणको काम अगाडि बढाइएको बताइएको छ।

बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्रकुमार झाले चनौली केन्द्रमा देखिएको विद्युत् भारको समस्या बुधबारसम्म वैकल्पिक उपायमार्फत व्यवस्थापन हुने जानकारी दिएका छन्। उनका अनुसार पूर्वी चितवनको हर्दीमा निर्माणाधीन २४ मेगावाट क्षमताको विद्युत् स्टेशन सोमबारभित्र सञ्चालनमा आउनेछ।

झाका अनुसार हर्दी स्टेशन सञ्चालन भएपछि भरतपुर र माडी मात्र नभई टाँडी, पर्सा, भण्डारा लगायतका क्षेत्रका समस्या पनि न्यून हुनेछन्।

उनले हर्दीबाट विद्युत् आपूर्ति गरी भरतपुरको पर्सा क्षेत्रको लोड घटाउने र सोही लाइनमार्फत भरतपुर १३ को देवनगर सबस्टेशनमा विद्युत् पुर्‍याउने तयारी भइरहेको बताए ।

उनले देवनगर स्टेशनबाट ३३ केभी लाइन सिधै जगतपुरमा सप्लाई गरेर अहिलेको चनौलीको लोड कम गरिने बताएका छन्। यो कार्य मंगलबार वा बढीमा बुधबारसम्म सम्पन्न हुने अनुमान गरिएको छ।

लोडसेडिङ तालिका

नारायणी–माडी फिडर: बिहान ६:००–९:०० र दिउँसो ३:००–६:००

मेघौली–विजयनगर–शुक्रनगर फिडर: बिहान ९:००–१२:०० र बेलुका ६:००–९:००

जगतपुर–रामपुर फिडर: दिउँसो १२:००–३:०० र बेलुका ९:००–१२:००

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ