काठमाडौं- एमाले नेत्री विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय राजनीतिको बारेमा मात्रै छलफल भएको बताएकी छन्।
आइतवार नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन्। उनले पार्टीको सदस्यता नवीकरण पहिल्यै भइसकेको पनि स्पष्ट पारिन्।
नेकपा एमाले पोलिटब्युरो बैठकमा आफ्ना धारणा राख्ने क्रममा नेताहरूले पार्टीमा सक्रिय रूपमा फर्किएको घोषणा गरेकी भण्डारीलाई के गर्ने भन्नेमा पार्टी अध्यक्षले छलफल गरेर टुंगो लगाउनुपर्ने धारणा राखेका थिए। नेताहरूको सुझावपछि आइतवार दुई नेताबीच भेट भएको हो।
भण्डारीले भनिन्, ‘राष्ट्रिय राजनीतिका बारेमा मात्रै कुरा भयो। पार्टी सदस्यता नवीकरण पहिल्यै भइसकेको हो।’
पछिल्लो समय भण्डारीलाई एमालेमा सक्रिय रूपमा ल्याउनुपर्ने भन्दै पार्टीका नेताहरूले आवाज उठाइरहेका छन्। ओली पक्षधर नेताहरूले भने गौरवमय स्थानमा पुगिसकेको व्यक्तिलाई पार्टीमा सक्रिय भूमिकामा ल्याउन नसकिने बताइरहेका छन्।
प्रतिक्रिया