काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशी/विदेशी प्रतिक्रियावादीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा रहेको टिप्पणी गरेका छन्।
देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति ओली भएपनि उनलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको सञ्चारमन्त्री गुरुङको जिकिर थियो।
बिहीबार काठमाडौंमा नेकपा एमाले वागमती प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित देउसी–भैलो कार्यक्रममा बोल्दै उनले ओलीलाई एक्ल्याउने षड्यन्त्रविरुद्ध प्रतिवाद गर्न पनि एमाले, नेता कार्यकर्तालाई सचेत गराए।
उनले ओलीमाथिको आक्रमण सिंगो नेपाल र नेपालीमाथिको आक्रमण भएकाले एमाले नेता, कार्यकर्ताले त्यसको प्रतिवादका लागि फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको अधिक प्रयोग गर्नुपर्ने बताए।
एमाले उपमहासचिव समेत रहेका सञ्चामन्त्री गुरुङले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीमाथि ठूलो षड्यन्त्र हुँदा पनि पार्टी पंक्ति त्यसको पक्षमा नउभिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।
उनले भने, ‘नयाँ पार्टीहरुले त्यही भाष्य बनाएका छन्। देशी, विदेशीहरुले त्यही भाष्य बनाएका छन्। हामीलाई कसरी एक्लो पारौँ? भनेका छन्। हाम्रो अध्यक्षलाई कसरी एक्ल्याउने भनेका छन्? प्रधानमन्त्रीबाट हटाउने भन्ने अभियानमा छन्। त्यसमा हाम्रा सतर्कता खै?’
मन्त्री गुरुङले सरकारले देश र जनताको हितमा धेरै काम गरेको दाबी समेत गरे। सरकारले आफनो सय दिनको कार्यकालमा मुलुक र जनताको अहितमा एउटा पनि काम नगरेको उनले दाबी गरे।
मन्त्री गुरुङले नयाँ भनिएका पार्टीहरूले ठूलो पार्टीहरुले केही पनि गरेनन भनेर गलत भाष्य सृजना गर्न खोजेको उल्लेख गर्दै त्यसका विरुद्ध वैचारिक संघर्ष गर्नुपर्नेमा पनि जोड दिए।
सञ्चारमन्त्री गुरुङले एमाले मुख्यालय निर्माणमा लागि व्यवसायी मिनबहादुर गुरुङले दिएको दानको विषयलाई पनि अनावश्यक ढंगले उचालेर एमालेलाई कमजोर बनाउने काम भईरहेको बताए।
प्रतिक्रिया