काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकार बनाउने विषयमा दायाँबायाँ लागे आफूहरु घर न घाटको हुने बताएका छन् ।
नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष नेपालले कस्तो किसिमको सरकार बन्ला भन्ने विषयमा पनि चर्चा उठेकाले दायाँबायाँ लागे आफूहरु घर न घाटको हुने बताएका हुन् ।
उनले कसैको पनि बहुमत नआएको स्थितिमा गठबन्धनकै सरकार बन्ने बताए ।
‘कसैले गैरवामपन्थी सरकार बनाउने कुरा उठाउने गरेका छन्, त्यो खयाली पुृलाव मात्र हो । कसैले वामपन्थीको सरकार बनाउने कुरा सोचिरहेको छ, त्यो पनि अलमल्याउने कुरामात्र हो । त्यसो हुनाले यस्तो कुरालाई सजिलो गरी पत्याउन सक्तैनौं’ अध्यक्ष नेपालले भने, ‘भएकाको विश्वास गुमाउने अनि हुदै नभएकाको विश्वास गरेर घर न घाटको हुने, त्यस्तो गल्ती हामी गर्न सक्दैनौं ।’
उनले अहिले नै नेकपा एमालेसँग मेलमिलाप हुन सक्ने सम्भावना नभएको पनि संकेत गरे । ‘एकातर्फ हामीले मित्रहरुको खोजी र पहिचान पनि गर्ने र मान्छेमा परिवर्तन र रुपान्तरण भइरहेको छ भने, आत्मालोचना देखिएको छ भने साँच्चै सुध्रिएको अवस्था देखिएको छ भने आग्रह पालेर नबस्ने, यो दुईवटै कुरामा उत्तिकै ध्यान दिएर चल्नुपर्छ’ उनले भने ।
नेता नेपालले अगाडि भने, ‘तर भ्रम पालेर बसियो भने त्यसपछि जुन परिणामको सामना गर्नुपर्छ, त्यसपछि हामीलाई बचाउने कोही हुने छैन, घर न घाटको अवस्थामा पुग्नेछौं ।’
२०७४ को चुनावमा आएको जनादेशबाट राम्रो शिक्षा लिएर अगाडि बढेको भए अहिले बेग्लै नतिजा आउने भन्दै उनले तर सबै कुरा आफूहरुको हातमा नभएको बताए । ‘वास्तवमा २०७४ सालको जनादेशबाट शिक्षा लिएर राम्रो ढंगले अगाडि बढेको भए बेग्लै परिणाम आउँथ्यो’ उनले भने, ‘तर हामीले चाहेर मात्र घटनाक्रम अगाडि बढ्दैन, विभिन्न पात्रको भूमिकाले ठूलो प्रभाव पार्छ ।’
प्रतिक्रिया