+
Search

ताजा अपडेट +

पपुलर +

माधव नेपालले भने : वैशाखमै स्थानीय तहको चुनाव भए पनि हामी डराउँदैनौं

पालिका लाइभ
२०७८ माघ १५, शनिबार

काठमाडाैं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भए पनि सामना गर्न तयार रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा नेपालले चुनावबाट आफूहरू भाग्न खोजेको भन्ने हल्ला गलत भएको भन्दै खण्डन गरेका हुन्।

‘चुनावसँग हामी आत्तिएका छैनौं। चुनाव वैशाखमै हुन्छ भने पनि हामी सामना गर्न तयार छौं। चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं। असारमा गर्ने हो भने सामना गर्न तयार छौं। असोजमा गर्ने हो भने सामना गर्न तयार छौं’, उनले भने, ‘स्थानीय तहको चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं। केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं। चुनावबाट हामी आत्तिएका छैनौं। जनतामा जाने कुराबाट हामी अत्यन्त खुसी पनि हुन्छौं।’

आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दाबी पनि उनले गरे। साथै एमाले अध्यक्ष केपी ओली सत्तारुढ गठबन्धन फुटाउन चर्को रूपमा लागिपरेको आरोप लगाउँदै त्यो प्रयास सफल हुन नदिने टिप्पणी उनले गरे।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरू सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिबद्ध रहेको जिकिर पनि गरे।

‘चुनावको कुराबाट बरु अरु आत्तिएका होलान्। गठबन्धनको एकता तोड्न खोजिरहेका होलान्। भ्रम पैदा गर्ने कोसिस गरिरहेका होलान्। अनि चुनावको कुरा गरिसकेपछि गठबन्धन दलको बीचमा उम्मेदवारीमा कुरा मिल्दैन। नमिलेपछि गठबन्धन टुट्छ। टुटिसकेपछि त्यसको फाइदा उठाउँला भनेर कोही त्यो मौकाको ताकमा पनि कोही होलान्’, अध्यक्ष नेपालले भने, ‘तर आज बिहान भएको बैठकमा पनि नेपाली कांग्रेसका सबै नेताहरूले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्वयम् प्रधानमन्त्रीले पनि त्यही हिसाबको प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गठबन्धन दलले जे निर्णय गर्छ, त्यसको आधारमा म चल्न तयार छु। र, गठबन्धनले जहिले चुनाव गर्ने भन्छ, त्यसका निम्ति पनि म जान तयार छु भनेर भनिसकेको हुनाले त्यसमा कुनै पनि किसिमका शंका, उपशंका गर्नुपर्ने आवश्यक्ता छैन।’

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिनाभित्र गर्न उपयुक्त हुने धारणा राखे। उनले स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल २०७९ असोज २ गतेपछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दाबीसमेत गरे।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ