बुटवल- रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा उत्पन्न स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।
औद्योगिक क्षेत्रको जग्गा सुकुम्बासीका नाममा कब्जा गर्न खोजेपछि स्थानीय प्रशासनले गोली चलाएको थियाे । जग्गा कब्जा गर्न खोज्नेलाई प्रहरीले हटाउन खोजेपछि भएको झडपमा प्रहरीले गोली चलाएको हो ।

स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको छ। प्रहरीको गोलीबाट ३ जना स्थानीय र ३ जना सशस्त्र प्रहरी गरी ६ जना घाइते भएका छन् । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा जग्गा कब्जा गर्न खोज्ने र प्रहरीबीच झडप भएको हो। करीब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो ।
२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति छ ।
प्रतिक्रिया