+
Search

ताजा अपडेट +

पपुलर +

पर्व सुधार गर्ने भन्दै गोरखामा एक महिना अघि नै मनाइयो दसैं

पालिका लाइभ
२०७८ आश्विन १, शुक्रबार

गोरखा- पर्व सुधार गर्ने भन्दै धुमधामका साथ दसैं मनाइएको छ । हिन्दु धर्मावलम्बीहरूको महान पर्व विजयादशमी आउन एक महिनाअघि नै सिरानचोक गाउँपालिका-५ छोप्रोक आसपासका स्थानीयहरूले दसैं मनाएका हुन् ।

बिहीबार विद्यालय तथा गाउँमा सामूहिक रूपमा टीका, जमरा लगाएर विजयादशमी मनाइएको मण्डली माविका शिक्षक हरिनारायण श्रेष्ठले जानकारी दिए ।

‘यहाँ २०६९ सालदेखि नियमित रूपमा व्राहमण, नेवार तथा अन्य समुदायका मानिसले दसैं आउनुभन्दा एक महिना पहिले नै टीका लगाउछौं,’ उनले भने, ‘सोही अनुरूप नेवा गुठी छोप्राकको आयोजनामा बजार आसपासका ५९ घरधुरीले टिका र जमरा लगाएर धुमधामसँग दसैं मनाएका हौं।’

विगतमा जस्तै यस वर्ष पनि छोप्राक आसपासका सबै विद्यालयमा अभिभावक र विद्यार्थीलाई बोलाएर टीका लगाइएको उनले बताए । बिहीबार सर्वोदय आधारभूत विद्यालय, मण्डली माध्यमिक विद्यालय, जनज्योति लगायतका सबै सामुदायिक विद्यालयमा दसैंको टीका लगाएको थियो ।

‘शास्त्रीय मान्यता अनुसार गलत तिथिमा चाड पर्व मनाउँदा शुभ हुँदैन । समय अनुसार हाम्रा चाड पर्व एक महिना अघि सार्नुपर्ने देखिन्छ । सोही कारण हामीले अहिले दसैं मनाएका हौं,’ पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सदस्य सचिव हरिनारायण मल्लले भने । स्थानीयहरूले भदौ १७ गते घटस्थापना भन्दै सामूहिक रूपमा जमरा राखेका थिए ।

हरेक २१५० वर्षमा ऋतु एक महिनाअघि सर्ने हुँदा हाल चलिरहेको पात्रो अनुसार सूर्य उत्तरायण र दक्षिणायन हुने समयसमेत परिवर्तन भई २४ दिन अघि सरेकाले एक महिना अघि दसैं मनाइएको समितिका सचिव मल्लको भनाइ छ ।

नेपाली पात्रो अनुसार असोज २१ गते पर्ने घटस्थापना र २९ गते दसैंको टीका भए पनि छोप्राकका स्थानीयले भाद्र १७ गते जमरा राखेर बिहीबार धुमधामका साथ टीका लगाएका हुन् । छोप्राकका हरिनारायण मल्ल, कृष्ण पोखरेललगायतका व्यक्तिले सुरु गरेको यो अभियान अहिले गाउँपालिका भरी बिस्तार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ