काठमाडौं- मोरङको पर्यटकीय क्षेत्र जेफाललगायत उत्तरी मोरङमा सुरक्षाकर्मीको व्यवस्था गर्न स्थानीयले १५ वर्षदेखि माग राख्दै आएका थिए।
तर सरकारी निकायले त्यस मागको बेवास्ता गर्दा सो क्षेत्रमा आपराधिक घटना बढेका छन्। शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार भएको हत्या त्यसैको एक उदाहरण हो। त्यहाँ भूमिगत गतिविधि गर्न पनि सहज रहेको स्थानीयकोे भनाइ रहेकाे खबर आजको नागरिक दैनिकमा चुमन बस्नेतले लेखेका छन्।
विगतको तुलनामा त्यस क्षेत्रका केही गाउँ सडक सञ्जालले जोडिए पनि राम्रोसँग विकास भएको छैन। हत्या गरिएका शिक्षक श्रेष्ठको घरआसपास ५० देखि सय मिटरसम्मको दूरीमा सातवटा घर छन्।
‘हामीले यहाँका नेता र सरकारसँग धेरै अघिदेखि सुरक्षाको माग गर्दै आएका थियौं। अहिलेसम्म यस क्षेत्रमा सुरक्षाको व्यवस्थापनका लागि चासो देखाएका छैनन्,’ स्थानीय भन्छन्, ‘त्यसैले हत्याजस्तो अपराध भएको छ।’
मृतक श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीयले बताएअनुसार आइतबार साँझ साग टिपेर फर्कंदै गर्दा बारीबाट नचिनेका दुईजना भाग्दै थिए। को हो भन्दै उनीहरूतिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे। घरदेखि अलि पर कात्तिके भन्ने ठाउँमा श्रेष्ठको बाख्राको खोर छ।
‘उहाँ (राजेन्द्र श्रेष्ठ)ले बिहान बाख्रालाई घाँसपात र पानी दिन जा, मचाहिँ घरमै बस्छु गाई ब्याउन लागेको छ भन्नुभयो,’ धनकुमारीले भनिन्, ‘छिमेकीहरू आत्तिँदै बाख्रा खोरमै आएर तपाईंको पतिलाई कसैले अपहरण गरेर लगे भने। त्यसपछि सबै जना खोज्न थाल्यौं। खोज्दै जाँदा बन्दुक पड्केको आवाज आयो र त्यसतर्फ जाँदा शव भेटियो।’
उनका अनुसार हत्याराहरूले एउटा खसी र एउटा बाख्रा मागेका थिए। ‘उनीहरूलाई श्रीमान्ले बाख्रा चाहिँ दिने भन्नुभएको थियो। खसी नदिँदा यस्तो घटना भयो,’ उनले भनिन्।
प्रतिक्रिया