काठमाडौँ- भारतीय विदेशसचिव हर्षवर्धन शृंगला बैठकमा सहभागी हुन बिहीबार नेपाल आउँदै छन्।
नेपालका तर्फबाट परराष्ट्रसचिव भरतराज पौडेल र भारतका तर्फबाट विदेशसचिव शृंगलाले बैठकमा नेतृत्व गर्दै छन्। यो बैठक नेपाल र भारतबीच तत्काल देखिएका समस्याबारे छलफलभन्दा पनि नियमित र औपचारिक विषयवस्तुमा केन्द्रित हुने देखिएको छ।
भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले संविधान संशोधन गरी नयाँ नक्सा सार्वजनिक गरेपछि दुई मुलुकबीचको सम्बन्ध सुमधुर छैन।
सचिवस्तरीय बैठकमा सीमा विवादको मुद्दा नउठाउने पक्षमा भारत देखिएको छ। एजेन्डामा नभए पनि नेपालले कुनै न कुनै रूपमा भारतीय विदेशसचिवसँग कालापानी क्षेत्रमा देखिएको सीमा विवादबारे कुरा राख्ने तयारी गरेको छ।
परराष्ट्रसचिव पौडेलले शृंगलासँगको एकान्त (वान टु वान) बैठकमा सीमा विवादका कारण देखिएको समस्याबारे छलफल गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
परराष्ट्रविदहरूले भने बैठकमा नेपालले सीमा विवाद र ईपीजी प्रतिवेदनबारे गम्भीर रूपमा कुरा उठाउनुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया