काठमाडौं- कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ।
परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो लगाइने भएको हो। यो विषयको निकास पाए विद्यार्थीलाई स्नातक तह अध्ययन गर्ने बाटो खुल्नेछ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा १२ का विद्यार्थीको परीक्षा सञ्चालन तथा प्रमाणीकरणका बारेमा सरकारसित निरन्तर संवाद भइरहेको र अब केही दिनमै निकास दिने गरी तयारी भइरहेको जानकारी दिए।
कक्षा १२ का विद्यार्थीको परीक्षा कुन तरिकाबाट सञ्चालन गरेर नतिजा प्रकाशन गर्ने भन्नेमा विभिन्न विकल्पमा छलफल सुरु गरिएको छ। केही समयअघि दसैँअघि पुरानै तरिकाबाट विद्यार्थीको परीक्षा सक्ने र नतिजा प्रकाशन गर्ने तयारी गरिएको थियो । तर अब त्यो सम्भावना टरेको बताइएको छ।
अब विकल्पका रूपमा कक्षा ११ कै जसरी विद्यार्थीको मूल्याङ्कनको अन्तिम अधिकार विद्यालयलाई दिने विषयमा छलफल भइरहेको छ। कक्षा १२ मा विद्यार्थीको परीक्षा लिनैपर्ने प्रावधान भएकाले परीक्षाको विकल्पलाई कसरी खुलाउने भन्ने हिसाबमा आफूहरू छलफलमा जुटेको उनले बताए।
यसका लागि पटक पटक गरेर परीक्षा लिने, अनलाइन या अन्य माध्यमको प्रयोग गरेर परीक्षाको प्रक्रिया पूरा गर्ने विषयमा छलफल थालिएको र छिट्टै निर्णय लिने जनाइएको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।।
यस खालको नीतिगत निर्णय लिने अधिकार हाल बोर्डमा नरहेकाले सरकारसित अधिकार दिन बोर्डले माग गरेको छ ।
स्वतन्त्र तरिकाले काम गर्न सकिएको अवस्थामा कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन तथा प्रमाणीकरण गरी बाटो खोल्ने सोचमा आफूहरू रहेको जानकारी बोर्डका अध्यक्ष पौडेलले दिए।
प्रतिक्रिया