काठमाडाैं- बाक्लो जनसंख्या भएको राजधानीमा कतै नगएका व्यक्तिमा संक्रमण बढ्न थालेकाले स्वास्थ्य सतर्कता नअपनाए ‘ठूलो जोखिमको सामना गर्नुपर्ने’ चेतावनी विज्ञहरूले दिएका छन् ।
राजधानीका करिब ३० जनाभन्दा बढी कतै नगएका व्यक्तिमा कोरोना भाइरस देखिएपछि सरकारले स्थानीय संक्रमण भए/नभएको यकिन गर्न शनिबारदेखि नमुना संकलन सुरु गरेको खबर अाजकाे कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन्।
‘आज (शनिबार) हामीले तीनकुनेमा १ सय १८ जनाको र नख्खुमा १ सय १० जनाको घाँटीको र्यालको नमुना संकलन गरेका छौं,’ स्वास्थ्य मन्त्रालयको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा.वासुदेव पाण्डेले भने, ‘दुई–चार दिनभित्रै वडाध्यक्षसँगको समन्वयमा अन्य १० ठाउँसमेत गरी १ हजार २ सय नमुना संकलन गर्नेछौं ।’ धेरै भिडभाड हुने र संक्रमितहरु घुलमिल हुनसक्ने सम्भावित स्थानमा आवतजावत गर्नेहरुको स्वाब परीक्षण गरिने उनले बताए ।
उनका अनुसार काठमाडौंका तीनकुने, शंखमुल, कपन, टोखा, ललितपुरका खुसिबु, नख्खु र भक्तपुरका केही स्थानमा समुदायमै गएर अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ । उनका अनुसार काठमाडौंमा १ सय ९, भक्तपुरमा २८ र ललितपुरमा १७ जना संक्रमित छन् ।
भैंसेपाटीमा साढे दुई वर्षे बालकमा कोरोना पोजिटिभ देखिएको थियो । ती बालक र उनका आफन्तको भ्रमण इतिहास थिएन ।
‘कतै नगएकामा कोरोना देखिएपछि हामीले ती व्यक्तिको विस्तृत अध्ययन गर्नैपर्छ’, डा.पाण्डेले भने, ‘आखिर कतै न कतै त उहाँहरू संक्रमित व्यक्तिको सम्पर्कमै आएर यो भाइरस बोक्नुभएको होला ।’
उनले संक्रमणको अवस्था थाहा पाउन कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्ने बताए । ‘हामीले ‘स्थानीय तहमा संक्रमण’ अवस्थाबारे थप जान्न स्क्रिनिङ सुरु गरेका छौं, अहिलेसम्म राजधानीमा मात्र होइन, मुलुकभर नै समुदायमा संक्रमण नगएको अवस्था हो ।’
हामीले ४ मध्ये दुईवटा ढलको नमुनामा ‘कोभिड–१९’ संक्रमण उत्पन्न गर्ने भाइरस पायौं,’ डा.कर्माचार्यले कान्तिपुरसँग भने, ‘उक्त दुवै नमुनामा चीनको वुहानमा पाइएको प्रजातिकै भाइरस पाइयो ।’
अनुसन्धानकर्ताहरूले यसको सूचना स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई समेत दिएका छन् ।
हाल उपत्यकामा व्यापक स्क्रिनिङको आवश्यकता देखिएको छ । लक्षणविहीन कोरोनाको संक्रमण (एसिम्प्टोम्याटिक) भएकाहरू राजधानीमा हुन सक्ने विज्ञहरूले बताएका छन् ।
प्रतिक्रिया